
चितवन । तरकारी खेती गर्ने चितवनका किसानहरू अहिले दोहोरो मारमा परेका छन्।
उत्पादन राम्रो भए पनि बजार मूल्य नपाएका किसानलाई हावाहुरीसहितको वर्षाले झनै क्षति व्यहोर्न बाध्य बनाएको छ। अवस्था यस्तोसम्म भयो कि केही दिन पहिले चितवनमा किलोको पाँच रूपैयाँमा पनि तरकारी बिक्री भएन। त्यसलगत्तै आएको हावाहुरीले तरकारी झनै सखाप पार्यो ।
चितवनको भरतपुर महानगरपालिका-२५ जनज्योति टोलीकी सुमिना थापा दुई विघामा तरकारी खेती गर्नुभएको छ। तर, उहाँलाई अहिले दोहोरो मार परेको छ। उत्पादित तरकारीले मूल्य नपाउँदा निराश थापालाई केहीदिन अघिको हावाहुरीले पुर्याएको क्षतिले थप पीडा दिएको छ।
किलोको एक सय रूपैयाँमा बोडी बिक्री हुँदा उहाँको खेतमा एक बोरा मात्रै बोडी थियो । जब उत्पादन बढेर २० बोरासम्म पुग्यो १० रूपैयाँ किलोमा पनि बिक्री नभएर मलखादमा फाल्न पर्यो। त्यसलगत्तै १० कठ्ठामा लगाएको बोडीमा हावाहुरीले क्षति गरेपछि उहाँलाई नोक्सानीको चिन्ताले सताएको छ।
उहाँले चार कठ्ठामा लगाएको काँक्रो चार रूपैयाँ किलोमा पनि बिक्री भएन। लौका किलोको पाँच देखि आठ रूपैयाँमा बेच्न पनि मुस्किल छ । हेमराज आचार्यले फलाएको करेलालगायतका तरकारी किलोको पाँच रूपैयाँमा पनि बिक्री नभएपछि बारीमै रह्यो।
अहिले हावाहुरीले भएको तरकारी पनि सबै सखाप बनाइदियो । हिजोआज तरकारीको केही भाउ त बढेको छ। तर, उत्पादन भएको तरकारी हावाहुरीले सखाप बनाएको छ । किसानहरूले टमाटर, भन्टा, खुर्सानीलगायत तरकारी राम्रै मूल्यमा बिक्री गर्न पाए । तर, अरू तरकारी भने बारीमै कुहिए।
अधिकांशको काँक्रो यसरी नै बारीमै कुहिएको छ । यो समस्या अहिलेको मात्रै होइन । केही वर्ष पहिले पनि तरकारीले पटक्कै भाउ नपाएपछि उनीहरूले तरकारीमै ट्याक्टर चलाएर खेत जोतेका थिए । किसानहरू किन यस्तो समस्या बारम्बर भोग्न बाध्य छन् त ?
तरकारी खेर जानुमात्रै किसानको समस्या होइन । किसानको उत्पादन दोहोरो बिलमा बिचौलीले खरिदबिक्री गर्छन्। किसानसँग खरिदा गर्दा एउटा बिल र बजारमा व्यापारीलाई फरक मूल्यको बिल देखाएर बेच्ने गरेको किसानहरूको आरोप छ।
पश्चिमी चितवनमा तरकारी उत्पादन राम्रो छ। यहाँ तरकारी जोनसमेत बनाएर एक हजार हेक्टरमा तरकारी खेती हुँदैआएको छ। उत्पादित तरकारी, काठमाडौं, पोखरा, हेटौंडा बुटवल, नेपालगञ्जसम्मको बजारमा पुग्ने गरेको छ। तर, मूल्य नपाउने समस्या समाधानमा सरकारले दीर्घकालीन योजना नबनाए अब धेरै किसान पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्।