कर्णालीमा बजेट खर्च निराशाजनक : आर्थिक वर्ष सकिन लाग्दा पनि सुस्त कार्यान्वयन

वैशाख २८, २०८३ |देव राना
कर्णालीमा बजेट खर्च निराशाजनक : आर्थिक वर्ष सकिन लाग्दा पनि सुस्त कार्यान्वयन

सुर्खेत । बजेट कार्यान्वयनमा सधैं असफल हुँदै आएको कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा पनि पुरानै नियति दोहोरिएको छ । 

आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा २८ प्रतिशतमात्रै बजेट खर्च भएको छ । विकास बजेट खर्चको अवस्था त झनै निराशाजनक छ । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारसँग १९ अर्ब ९८ करोड २७ लाख १३ हजार विकास बजेट छ । तर, आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा जम्मा २१ प्रतिशत अर्थात् ४ अर्ब ११ करोड मात्रै खर्च भएको छ । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले कम हो । गत आर्थिक वर्षको यही अवधिसम्म प्रदेश सरकारको साढे २५ प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड विकास बजेट खर्च गरेको थियो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलकै बजेट कार्यान्वयन सन्तोषजनक छैन । 

यो मन्त्रालयसँग चालु आर्थिक वर्षका लागि १० अर्ब ७३ करोड विकास बजेट छ । तर, हालसम्म जम्मा २२ प्रतिशत अर्थात् २ अर्ब २६ करोड मात्रै खर्च भएको छ । अन्य मन्त्रालयसँग विकास बजेट न्यून भए पनि उनीहरूले पनि गर्नसकेका छैनन् । 

सरकारले भने जेन-जी आन्दोलन र निर्वाचनका कारण अपेक्षाअनुसार विकास बजेट कार्यान्वयन गर्न नसकेको भन्दै आफ्नो बचाउ गरेको छ । हालसम्म सामाजिक विकास मन्त्रालयले १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २९, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १४, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५७, आर्थिक मामिला तथा योजना मन्त्रालयले १३ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४२ प्रतिशत विकास बजेट खर्च गरेका छन् । 

प्रमुख प्रतिपक्षी दलले भने बजेट कार्यान्वयन नहुनुमा जेन-जी आन्दोलन र निर्वाचन कारक नभइ सरकारले नै अभीरुचि नदेखाएको आरोप लगाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० मा ३५ प्रतिशत, २०८०/०८१ मा २९ प्रतिशत र ०८१/०८२ मा ३२ प्रतिशत विकास बजेट कार्यान्वयन गरेको थियो । 

चालु आर्थिक वर्षको ९ महिनाको प्रगति हेर्दा गत वर्षभन्दा अझै न्यून विकास बजेट खर्च हुने देखिएको छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।