तटबन्ध बने पनि दोदाको जोखिम उस्तै, बर्सेनि गुम्दै खेतीयोग्य जमिन

भाद्र २१, २०८३ |हरिश्चन्द्र बाग
तटबन्ध बने पनि दोदाको जोखिम उस्तै, बर्सेनि गुम्दै खेतीयोग्य जमिन

कञ्चनपुर । कञ्चनपुरमा दोदा नदी नियन्त्रणका लागि ७५ करोड रुपैयाँभन्दा बढी खर्चेर १६ वर्षमा करिब १६ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । 

तर, नदीमा आउने बाढीले तटबन्ध नगरिएका क्षेत्र कटान, पटान र डुबानमा पार्ने गरेकोले जोखिम कायमै छ । नदीले हरेक वर्ष धार फेर्दा तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबानमा पर्ने गरेका छन् ।

दोदा नदी चुरे क्षेत्र हुँदै कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास क्षेत्र भएर भारत पस्छ । वर्षात्‌मा पानीको बहाव बढ्दा नदी किनारका बस्ती र खेतीयोग्य जमिन कटान, पटान तथा डुबानमा पर्ने गरेका छन् । २०६५ सालयता मात्रै पनि सिकलपट्टी जाई, खल्ला जाई, पर्सिया खल्ला, नन्दगाउँ, बल्मी, डुङ्गा, कसुवा, कञ्ज, खल्ला बिनवारी, खल्ला बिचवा, विकासबस्ती, सीताबस्ती लगायतका क्षेत्रमा गरी हालसम्म करिब एक हजार पाँच सय बिघा जति खेतीयोग्य जमिन दोदा नदीकै कारण बगरमा परिणत भएको छ ।

दोदा नदीको कटानबाट तटीय क्षेत्रका किसानले पछिल्लो पाँच वर्षमा मात्रै पनि पाँच सय बिघा खेतीयोग्य जमिन गुमाउनुका साथै बाढीका कारण लगाएको बालीमा समेत क्षति व्यहोर्दै आएका छन् । २०६६/०६७ मा स्थापना भएको साबिकको जनताको तटबन्ध कार्यालयमार्फत विभिन्न निकायसँगको साझेदारीमा दोदा नदीमा तटबन्ध निर्माणका लागि हालसम्म करिब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ । 

उक्त रकमबाट करिब १६ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । थोरै बजेट र अन्य नदी तटीय क्षेत्रमा पनि काम गर्नुपर्ने भएकोले जनताको तटबन्ध कार्यालयले दोदा नदीको जोखिममा रहेका सबै क्षेत्रमा तटबन्ध निर्माण गर्न सकेन । हाल जनताको तटबन्ध कार्यालयको नाम परिवर्तन गरी सिँचाइ तथा जलस्राेत व्यवस्थापन आयोजनामा रूपान्तरण गरिएको छ ।

लालझाडी गाउँपालिकाले आफ्नै बजेटबाट थप तटबन्ध निर्माणको योजना अघि सारे पनि नदी तटीय क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमा पर्ने भन्दै निकुञ्ज प्रशासनले निर्माण अघि बढाउन नदिएको गाउँपालिकाको आरोप छ ।

सिँचाइ तथा जलस्राेत व्यवस्थापन आयोजना, कञ्चनपुरले चालु आर्थिक वर्षमा बढी प्रभावित मानवबस्ती र खेतीयोग्य जमिनलाई प्राथमिकतामा राखेर थप तटबन्ध निर्माण गर्ने जनाएको छ । करिब ६ करोड रुपैयाँको बजेटमा तटबन्ध निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।

स्थानीयले जोखिमयुक्त क्षेत्रमा प्राथमिकताका आधारमा तटबन्ध निर्माण र नदी व्यवस्थापनको कामलाई निरन्तरता दिन माग गरेका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।