
दाङ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दाङका ६० जना सम्पर्कविहीन भएकोमा हालसम्म ६ जनामात्रै सम्पर्कमा आएका छन् ।
बेपत्ता हुनेहरू अधिकांश रसुवामा विभिन्न जलविद्युत् परियोजनामा कामका लागि जानेहरू छन् भने केही सरकारी कर्मचारी पनि छन् । बाढीपछि सम्पर्कविहीन बनेकाहरूका धेरै परिवारले अब जीवितै फेला पार्ने आशा मारेर अन्तिम संस्कार गर्न थालेका छन् ।
केहीलाई भने आफ्ना प्रियजन सकुशल फर्किन्छन् कि भन्ने आशा मरेको छैन । घरको सबै व्यवहार हेर्ने बुढेसकालको सहारा कान्छो छोरो शम्भुजित फर्किने आशा आमा चंखीले अझै मार्नुभएको छैन । घरको भित्तो समाएर टोलाइरहने आमा चंखीलाई छोराको यादले सताइरहेको छ भने गर्भवती श्रीमती सुस्मीता बोल्न सम्ने अवस्थामै हुनुहुन्न ।
रसुवामा आएको भीषण बाढीपछि दाङका सम्पर्कविहीन भएका सूचीमा हुनुन्छ राजपुर गाउँपालिका ५ सिमलखुटीका अर्जुन घर्तीमगर । ४० वर्षीय अर्जुन अपर त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा काम गर्नुहुन्थ्यो । भदौ १० गते बिहान ७ बजे परिवारसँग फोनमा कुराकानी भयो ।
११ बजे फेरि फोन गर्छु भन्दै बिदा भएका अर्जुन त्यसपछि सम्पर्कमा आउनुभएन । अर्जुनका दाइ रेगबहादुर भाइको खोजीका लागि त्रिशूलीसम्म पुग्नुभयो । चितवनस्थित अस्पतालमा भेटिएका शव हेर्नुभयो । तर, कुनै अत्तोपत्तो लागेन ।
लमही नगरपालिका-६ खैरीकी २६ वर्षीया शिवानी चौधरी पनि रसुवा बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । रसुवामा ज्यामी काम गर्ने शिवानीले दशैंमा घर फर्किने बताउनुभएको थियो । घर बनाउने कामबाट कमाएको पैसाले परिवारका लागि पक्की घर बनाउने सपना बोक्नुभएकी उहाँ अहिले आफै कहाँ हुनुहुन्छ भन्ने परिवारलाई थाहा छैन ।
पुस्तौँदेखि भूमिहीन परिवार ऐलानी जग्गामा बस्दै आएको थियो । अहिले कच्ची घरसमेत भत्किएको छ । छोरीको खबर नआएपछि परिवारमाथि पीडासँगै ऋणको बोझ पनि थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र प्रहरीको तथ्याङअनुसार रसुवा बाढीपछि सम्पर्कविहीन ६० जनामध्ये ५० पुरुष र १० महिला छन् ।
६ जना पुरुष सम्पर्कमा आए पनि ४४ पुरुष र १० महिलाको खोज तथा उद्धार हुन बाँकी छ । जवाफको प्रतीक्षामा परिवारका आँखा बाटोतिरै छन् ।