‘मृत्यु भइसक्यो’ भन्दै संस्कार थालिएको थियो, ११औं दिन सकुशल भेटिइन् चन्डिका

भाद्र २०, २०८३ |कान्तिपुर टीभी संवाददाता
‘मृत्यु भइसक्यो’ भन्दै संस्कार थालिएको थियो, ११औं दिन सकुशल भेटिइन् चन्डिका

काठमाडौं । आठ दिनसम्म खोजी गर्दा पनि नपाएपछि परिवारले नुवाकोटको बेत्रावतीकी ६४ वर्षीया चन्डिका श्रेष्ठको कुशको शव बनाएर मृत्यु संस्कारसमेत थालिसकेको थियो। तर, सुरक्षाकर्मीले सकुशल फेला पारेपछि परिवार तथा आफन्त भावविह्वल भएका छन् ।

भदौ १० मा भोटेकोशीमा आएको बाढीले बेत्रावती घर बगाएसँगै ६४ वर्षीया चन्डिका श्रेष्ठ पनि सम्पर्कविहीन हुनुभयो । चन्डिका, उहाँका श्रीमान आनन्दलगायत पाँच सदस्यलाई परिवारले तीन दिनसम्म खोजी गरे । तर, फेला नपरेपछि आश मारेर आठौं दिनका दिन परिवारले कुशको शव बनाएर मृत्यु संस्कारसमेत थालिसकेको थियो । तर, ११औं दिन चन्डिका भग्नावशेष घरभित्र सकुशल भेटिएपछि परिवार अहिले भावविह्वल छ ।

सशस्त्र प्रहरी बलबाट सडक निर्माणका लागि बेत्रावतीमा खटिएको टोलीले शनिबार भग्नावशेषभित्र कोही कराएको आवाज सुनेपछि खोजी थालेको थियो । चन्डिकाको उद्धार कार्यको कमान्ड गर्नुभएका सशस्त्र प्रहरीका निरीक्षक सुमन विकले कान्तिपुरसँग भन्नुभयो- 'यहीँबाट पहिले पनि उद्धार र खोज गरेका थियौं, त्यस क्रममा कुनै आवाज आएको थिएन । दोहोर्‍याएर हिँडेका बेला आवाज सुनेपछि आसपासको लेदो पन्छाएर खोजी थालेका थियौं ।'

उद्धार टोली झ्याल फोडेर भग्नावशेषभित्र घिस्रिँदै प्रवेश गरेको देख्ने बित्तिकै चन्डिका थप बोल्न थाल्नुभएको विकले बताउनुभयो । श्रेष्ठलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको छ ।

बाढीको ११औं दिनमा जीवितै उद्धार भएको खबर पाएपछि परिवारका सदस्य तथा आफन्त अन्तिम संस्कारको कार्य रोकेर अस्पताल पुगेका थिए । उनीहरुले सुरक्षा संयन्त्रसँग सम्पर्क गरेर घरमा अरू पाँच जनासमेत हराइरहेको भन्दै सबैको खोजी गरिदिन आग्रह गरेका छन् । चन्डिकाका श्रीमान्‌ आनन्दसमेत सम्पर्कविहीन हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.