
काठमाडौँ । सेयर बजारमा हुने अस्वाभाविक घटबढका बारेमा अनुसन्धान गर्न धितोपत्र बोर्डले गत फागुन अन्तिम साता अनुसन्धान समिति गठन गरेको थियो । बोर्डका कार्यकारी निर्देशक रूपेश केसी संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनले दीपक भट्टलगायत समूहको मिलेमतोमा भएको शेयर कारोबारमा अन्य व्यापारीको समेत संलग्नता रहेको देखाएको छ । जसमा व्यवसायी शेखर गोल्छाले कसुर गर्न सहयोग गरेको उल्लेख गरिएको छ । के छ प्रतिवेदनमा ?
धितोपत्र बोर्डले तयार पारेको जााचबुझ सुपरीवेक्षण प्रतिवेदनले शेयर मूल्य अस्वाभाविक रूपमा बढाउन व्यवसायी दीपक भट्ट र हिमालयन रिइन्सुरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवालको मिलेमतो रहने गरेको तथ्य उजागर गरेको छ, जसमा कसुरका आरोपित चार जना र सहयोगीका रूपमा २ व्यवसायी तथा ५ संस्था देखिएका छन् । कसुरका आरोपितहरूमा सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान छन् । यस्तै, सहयोगीका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा र रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता रहेको प्रतिवेदनमा उल्लेख छ ।
आरोपितमध्ये राजबहादुर शाहलाई सरकारले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने व्यक्तिका रूपमा सम्मानसमेत गरेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८२ फागुन २५ मा भट्टको शेयर कारोबारबारे विवरण पठाउन धितोपत्र बोर्डलाई पत्र काटेको थियो । सोही आधारमा बोर्डले अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको हो । यद्यपि यो प्रतिवेदन बोर्डले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
बोर्डको अनुसन्धानले अर्बौं रुपैयाा बराबरको सेयर कारोबार उधारोमा गरिएको, रकम भुक्तानी नगरी खातामा सेयर सारिएको, तथा बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्य बढाइको देखाएको छ । विशेषगरी भुकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत यस्तो कारोवार भएको छ ।
दीपक भट्टमाथि झुटो कारोबार र आफ्नै लगानी रहेका कम्पनीहरूबीच कानुनविपरीत सेयर किनबेच गरेको आरोप छ । भट्टले २०८२ साउन ५ देखि २०८२ चैत १ सम्म ३ अर्ब ८० करोड ५३ लाख सेयर खरिद गरेको र १३ करोड ५ लाख ९२ हजारमा बिक्री गरेको छ । यस्तै राजबहादुर शाह, सुभी अग्रवाल र ऋषिराज मोरले पनि अग्रिम रकम नदिई ठूलो परिमाणमा सेयर कारोबार गरेको र भुक्तानी नगरी खातामा सेयर प्राप्त गरेको देखिएको छ । यसले लगानीकर्ता र बजारलाई भ्रमित बनाएको निष्कर्ष प्रतिवेदनको छ ।
भृकुटी स्टक ब्रोकिङका प्रमुख सन्दीप चाचानले समेत यस्तो कारोबारमा सहयोग गरेको भन्दै कारबाहीको सिफारिस गरिएको छ । प्रतिवेदनले हिमालयन रिइन्स्योरेन्स, हिमालय क्याप सर्भ, नेपाल माइक्रो इन्स्योरेन्स, एचएलआई लार्ज क्याप फन्ड र हिमालय सेक्युरिटीज गरी ५ संस्थालाई पनि सहयोगीको रूपमा उल्लेख गरेको छ । उनीहरूको रकम प्रयोग गरेर सेयर खरिद गरेको देखिएको अनुसन्धानमा देखिएको छ, जसअनुसार बिनारकम अर्बौंको कारोबार गराएर नेपाल रिइन्स्योरेन्स लयायत कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाइएको छ ।
धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार यस्तो कार्य झुटो कारोबार अन्तर्गत पर्ने र दोषी ठहर भएमा जरिवाना, कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था छ । बोर्डले यस प्रकरणलाई गम्भीर आर्थिक अपराधका रूपमा व्याख्या गर्दे थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाउन सिफारिस गरेको छ । साथै कालोधन प्रयोग भएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा प्रतिवेदन तयार गरिएको हो ।