विकास खर्च घट्यो

वैशाख ८, २०८३ |सुदिल पोखरेल
विकास खर्च घट्यो

काठमाडौं । विकास निर्माणमा सरकारले गर्ने खर्च घटेको छ । 

गत वर्षको वैशाख ७ गतेसम्म १ खर्ब ४ अर्ब खर्च गरेकामा यो वर्षको सोही अवधिमा यस्तो खर्च ९९ अर्ब ३७ करोड मात्रै छ । अर्थात् विकास खर्च गत वर्षको तुलनामा ४ अर्ब ६३ करोडले घटेको छ । गत आर्थिक वर्षको तुलनामा विकास खर्चको दायरा बढाइए पनि खर्च भएको रकम भने घटेको हो । 

गत आर्थिक वर्ष २०८१/०८२ मा ३ खर्ब ५२ अर्ब विकासका लागि छुट्याइएको थियो भने यो वर्ष ४ खर्ब ७ अर्ब छुट्याइएको थियो । तर, गत वर्षको यही समयमा कुल बजेटको २९ दशमलब सात ६ प्रतिशत खर्च भएकोमा यो वर्ष सोही अवधिमा २४ दशमलब तीन ६ प्रतिशत मात्र खर्च भएको हो ।

विकास खर्च घटिरहँदा कर्मचारीको भत्ता तथा तलबसँगै सामाजिक सुरक्षा र अन्य प्रशासनिक क्षेत्रमा हुने खर्च अर्थात् चालु खर्च ७३ अर्बले बढेको छ । वैशाख ७ गतेसम्म ७ खर्ब ६४ अर्ब चालु खर्च भएको छ । अघिल्लो वर्ष यही समयमा ६ खर्ब ९१ अर्ब खर्च भएको थियो ।

आम्दानीको तुलनामा खर्च बढी भएका कारण सरकारको बजेट घाटा पनि बढेको छ । गत वर्ष आम्दानीभन्दा खर्च १ खर्ब ४५ अर्ब रहेकामा यो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५८ अर्ब पुगेको छ । विकास निर्माणका काम ठप्प हुँदा यसको सट्धाठ असर सरकारको आम्दानीमा समेत परेको देखिन्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।