
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ ।
बिहीबार महासंघ कार्यालयमा अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरूको पदबहाली कार्यक्रम थियो । पदबहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न आफ्नो कार्यकालमा काम गर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर विभिन्न नीतिगत सुधार गर्ने समेत बताउनुभयो ।
निजी क्षेत्रको प्रवर्द्धन तथा सुरक्षासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेकोतर्फ लक्षित गर्दै उहाँले अब यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले अहिले बजारमा माग अत्यन्त कमजोर रहेको, जनताको क्रयशक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त भएको अवस्था रहेको बताउँदै पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा उहाँको जोड थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार अहिले विशेषगरी साना तथा मझौला उद्योगहरू बढी समस्यामा छन् । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भए पनि साना उद्योगहरूले आवश्यक कर्जा र लगानी पाउन नसकेको अवस्था छैन ।
विगतमा सहकारी क्षेत्रले करिब ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको तर सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।