
काठमाडौं । एन्फा र राखेपको टसलका कारण पछिल्लो समय संस्था मात्र कमजोर भएन, खेलाडीको व्यावसायिक जीवनसमेत धरापमा पर्यो ।
तर, विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेको भनेर राखेपले एन्फालाई निलम्बन गरे पनि अहिले बिनासर्त निलम्बन फुकुवा गरेको छ । यसै सन्दर्भमा तयार पारिएको गत चैत १२ गते राखेपले एन्फालाई निलम्बन गर्यो ।
एन्फा नेतृत्वले कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि राखेपले खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई आधार मानेर एन्फा कार्यसमितिलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
तर, आज त्यसको करिब डेढ महिनापछि नै राखेपले बिनासर्त एन्फा निलम्बन फुकुवा गरेको छ । राखेपका अनुसार निलम्बित हुँदा एन्फालाई काम गर्न गाह्रो हुने र यसले सम्रग नेपाली फुटबललाई नै असर गर्ने भएकाले निलम्बन फुकुवा गरिएको हो ।
यस्तै फिफा र एएफसीका प्रतिनिधिहरूसँग पनि छलफल गर्न कठिन हुने हुँदा यस्तो निर्णय गरिएको राखेपको तर्क छ । एन्फा महासचिव किरण राईलगायतका प्रतिनिधि र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबीच निलम्बन फुकुवाबारे आज छलफल भएको थियो ।
अब यो फुकुवापछि एन्फालाई अघि बढ्न सहज हुने राईको भनाइ छ । राखेपका अनुसार उनीहरू खेलाडीका लागि उदार छन् । तर, एन्फाले आफैँले गल्ती गर्ने र आफूलाई जिम्मेवार ठहर्याउने गरेको राखेपको आरोप छ । यता एन्फाको भनाइ चाहिँ अब सबै सरोकारवाला निकायसँग मिलेर अगाडि बढ्ने भन्ने छ ।
एन्फा नेतृत्वले कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो । एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटक पटक पत्र काटेको थियो ।
तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गर्नेसम्मको निर्णय गरेको थियो । एन्फा निलम्बनमा परेपछि गत चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको थियो ।
यस्तै महिला टोलीले चैत २९ र वैशाख २ गते थाइल्यान्डमा आयोजना भएको ४ देश सम्मिलित फिफा सिरिज गुमाएको थियो ।