
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयरबजारको कारोबारमा सर्किट ब्रेकसम्बन्धी प्रावधान परिवर्तन गरेको छ ।
अब ५ प्रतिशतभन्दा बढी बजार घटबढ भएमात्रै सर्किट ब्रेक लाग्नेछ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ परिमार्जन गर्दै सोमबारदेखि लागू हुने गरी अब पूरा दिनमा ८ प्रतिशतले बजार घटबढ भएमात्रै बजार बन्द हुने व्यवस्था गरिएको छ ।
यसअघि पहिलो घन्टामा ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक र पूरा दिनका लागि ६ प्रतिशतले घटबढ हुँदा बजार बन्द हुने गरेको थियो । नयाँ व्यवस्था अनुसार पहिलो दुई घन्टामा ५ प्रतिशत घटबढ भए १५ मिनेटका लागि कारोबार रोकिने र त्यसपछिको दुई घन्टामा ८ प्रतिशतले बढेपछि सो दिनकै कारोबार बन्द गरिनेछ ।
साथै कुनै पनि कम्पनीको मूल्य अब १५ प्रतिशतले घटबढ भएमात्रै त्यो दिनका लागि उक्त कम्पनीको कारोबार रोकिनेछ । जुन यसअघि १० प्रतिशत रहेको थियो । त्यसैगरी अब सेयर खरिद बिक्रीका लागि चौविसै घन्टा अर्डर गर्न मिल्ने भएको छ ।
जुन अहिलेसम्म ११ देखि ३ बजेसम्मको अवधिमा मात्रै सेयर कारोबार गर्न मिल्ने गरेको थियो । तर, अर्डरको कारोबार भने बजार खुलेकै समय अर्थात् बिहान ११ देखि ३ बजेसम्ममा मात्र हुनेछ । यस्तै, अब प्रि-ओपन सेसनमा कुनै कम्पनीको अघिल्लो मूल्यभन्दा ५ प्रतिशतसम्म घटबढ गरेर अर्डर हाल्न पाइने भएको छ ।
जुन अहिलेसम्म २ प्रतिशतसम्मको सिमा रहेको थियो । साथै अब कुनै कम्पनीको सेयर किनबेचका लागि अर्डर गर्दा अघिल्लो भन्दा बढीमा ३ प्रतिशतसम्म घटबढ गरेर अर्डर गर्न पाइने भएको छ । यसअघि यस्तो सीमा २ प्रतिशतसम्म थियो ।