हर्मुज खुल्दा घट्यो कच्चा तेलको मूल्य : नेपालमा कहिले सस्तो हुन्छ इन्धन ?

वैशाख ५, २०८३ |सुमन पन्थ
हर्मुज खुल्दा घट्यो कच्चा तेलको मूल्य : नेपालमा कहिले सस्तो हुन्छ इन्धन ?

काठमाडौं । विश्वभर ३० प्रतिशत इन्धन आपूर्ति हुने हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणासँगै कच्चा तेलको मूल्य ओरालो लाग्न सुरु भइसकेको छ । 

शुक्रबार प्रतिब्यारेल ९८ डलर रहेको मूल्य घटेर शनिबार ८८ भएको छ । यसबाट संसारभर इन्धनको भाउ घट्ने र आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । नेपालमा इन्धनको मूल्य दक्षिण एसियामै महंगो छ । यस्तो अवस्थामा इन्धनको मूल्य समायोजन गर्नुपर्ने उपभोक्ताको माग छ । 

विज्ञहरुले आयल निगमलाई वित्तीय स्रोत उपलब्ध गराएर भए पनि उपभोक्तालाई राहत दिन माग गरेका छन् । नेपाल आयल निगमले महिनाको दुई पटक भारतीय आयल कर्पोरेसन-आईओसीसाग मूल्य पाउने गरेको छ । हरेक महिनाको १ र १६ गते आउने मूल्यकै आधारमा नेपालमा मूल्य निर्धारण हुने गरेको छ ।

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणापछि कच्चा तेलको मूल्य घट्न सुरु गरिसकेको छ । अब नेपालमा कहिले घट्छ ? जवाफ निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पनि दिन सक्नुभएन । वैशाख ३० गते आउाने नयाा मूल्यसूचिपछि मूल्य समायोजन हुने उहााले बताउनुभयो । 

तत्काल समायोजनका लागि अर्को विकल्प पनि छ त्यसका लागि सरकारले मूल्य स्थिरीकरण कोषको प्रयोग वा राहतका लागि नीतिगत निर्णयलिनुपर्नेछ । यो निर्णय वाणिज्य मन्त्रालयले नै गर्नुपर्छ । यता उपभोक्ताले भने इन्धनको मूल्य समायोजन गर्न माग गर्दै आएका छन् ।

अहिले नेपालमा इन्धनको मूल्य दक्षिण एसियाली मुलुकमै सबैभन्दा बढी छ । भारतमा पेट्रोल प्रतिलिटर १५० देखि १६५ रूपैयाँसम्म छ । जबकि नेपालमा पेट्रोल प्रतिलिटर २१९ र डिजल २३७ रुपैयाँ रहेको छ । यस्तै, पेट्रोलको मूल्य बंगलादेशमा १४० देखि १४५, श्रीलंकामा १८७, अफगानिस्तानमा १४० र भुटानमा १५६ रुपैयाँ रहेको छ । 

भारतले मूल्य स्थिर राख्नका लागि प्रति लिटर २० देखि ३० रुपैयाँ अर्थात् दैनिक १६ सय करोड बराबरको घाटा व्यहोर्दै आएको छ । सरकारी तेल कम्पनीहरुलाई अनुदान दिएरै भए पनि भारत सरकारले उपभोक्तालाई राहत दिइरहेको छ । बंगलादेशले पनि कोटा प्रणाली लागू गरेरै भए पनि मूल्य बढ्न दिइरहेको छैन । 

नेपालले पनि चर्को मूल्य रोक्ने उपाय खोज्न विज्ञहरुले सुझाव दिएका छन् । यता आयल निगमले भने पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजलको मूल्य २३७ रहँदा पनि १५ दिनमा ५ अर्ब ७० करोड घाटा रहेको बताएको छ । अझै मूल्य घटाउने हो भने आइओसीलाई दिने पैसा नहुने तर्क निगमको छ । 

इन्धनमा हुँदै आएको मूल्यवृद्धिका कारण खाद्यान्नमा महंगीदेखि सार्वजनिक यातायातको भाडा वृद्धिसम्मको मार उपभोक्ताले खेपिरहेका छन् । त्यसैले इन्धनको लगातार मूल्यवृद्धि रोक्न सरकारले विकल्पहरुको खोजी गर्नुपर्छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।