पाँचपोखरीमा कोसेली घर सञ्चालन : स्थानीय उत्पादनले पायो बजार

जेष्ठ ६, २०८३ |कमला पाख्रिन
पाँचपोखरीमा कोसेली घर सञ्चालन : स्थानीय उत्पादनले पायो बजार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी घुम्न जाने पर्यटकलाई लक्षित गर्दै थाङपाल गाउँपालिकाले कोसेली घर सुरु गरेको छ । 

पालिकाको पहलमा कोसेलीघर सेवा सुरु भएपछि स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । पाँचपोखरीमा सुरु भएको कोसेली घरमा के के पाइन्छ ? साथै यसले स्थानीयलाई के लाभ हुन्छ ? 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका स्थानीयले गाउँमै उपलब्ध स्रोतसाधनको उपयोग गर्दै गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार तथा काष्ठकलाबाट बनेका सामग्री उत्पादन गर्दै आएका छन् । तर, उत्पादन भएका सामग्रीको बजारीकरण गर्न भने उनीहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए । 

अहिले गाउँपालिकाले सञ्चालनमा ल्याएको कोसेली घरबाट आफ्ना उत्पादनको बिक्री मात्र भएको छैन स्थानीयको आम्दानीको स्राेत पनि बढेको छ । कोसेली घरमा हाल ६० भन्दा बढी खाद्य तथा गैर-खाद्य स्थानीय सामग्री उपलब्ध छन् । 

भुजेल र गुरुङ समुदायले भेडाको रौँबाट बुनेका राडीपाखी, महिलाहरूले हातैले बुनेका श्यामा -फरिया, बाँसबाट बनेका सामग्री, तोरीको तेल, चौंरीको घिउ, छुर्पी, शुद्ध मह, बासखर्कको चिया, भोताङको अर्गानिक कोदो तथा आलुलगायतका उत्पादन यहाँ बिक्रीका लागि राखिएका छन् । 

कोसेली घरबाट स्थानीय उत्पादनको बजार विस्तारसँगै चर्चित पर्यटकीय क्षेत्र पाँचपोखरी घुम्न आउने जाने पर्यटकहरूले मौलिक उपहार तथा रैथाने स्वाद चाख्न पाएका छन् । कोसेली घरको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गाउँको उत्पादनलाई गाउँमै मूल्य दिनु हो । 

यसले परम्परागत सीप, स्थानीय संस्कृति र रैथाने उत्पादनको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूण भूमिका खेलेको छ । 'कोसेली घर' सञ्चालनमा आएसंगै स्थानीय सीप, संस्कृति र परम्परागत उत्पादनको जीवन्त सङ्ग्रहालयझैँ बनेको छ भने अर्कातिर स्थानीय उत्पादनलाई बजारसँग जोड्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन योगदान दिने अपेक्षा गरिएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।