शिक्षकदेखि सफल किसानसम्म : मौरीपालनमा सिंखडा दम्पतीको प्रेरक यात्रा

जेष्ठ ९, २०८३ |पोषनाथ अधिकारी
शिक्षकदेखि सफल किसानसम्म : मौरीपालनमा सिंखडा दम्पतीको प्रेरक यात्रा

धादिङ । पछिल्लो समय पढेलेखेका युवाले सरकारी वा कर्पोरेट क्षेत्रको रोजगारी नै गर्ने अथवा विदेश जाने प्रवृत्ति बढ्दो छ । तर, धादिङ सिद्धलेकका पूर्णप्रसाद सिंखडा भने अध्यापकको जागिर छाडेर मौरीपालनमा रमाइरहनुभएको छ ।

धादिङ सिद्धलेक गाउँपालिका १ का पूर्णप्रसाद सिंखडाको घर वरपर मौरीको घारको दृश्य आकर्षक छ । घरमा पालिएको झन्डै तीनसय घार माहुरीलाई स्याहार श्रीमती एक्लैले नसक्ने भन्दै धादिङको किरानचोक कार्कीडाँडा माविको उच्च मावि कोटामा अर्थशास्त्र विषय अध्यापन गराउँदै आउनुभएका पूर्णप्रसादले नयाँ शैक्षिक सत्रदेखि जागिर छाडिदिनुभयो। 

अध्यापन र मौरीपालनलाई सँगसँगै लैजादा समय नपुगेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक मौरीपालनमा केन्द्रित हुनुभएको हो । नौ वर्षअघि श्रीमती गोमा सिंखडाले तीन दिनको तालिम लिएर ६० हजार रुपयाँ लगानीमा २० घारबाट मौरीपालन सुरु गर्नुभएको थियो । 

अहिले तीन सयभन्दा धेरै घार मौरी छन् । पूर्णप्रसादले एपिस सेरेना जातको मौरी पाल्नु भएको छ। वार्षिक तीन सयभन्दा धेरै मौरीसहितको घार, पाँच सयभन्दा धेरै खाली घार र पाँच सय किलोभन्दा धेरै मह बिक्री हुने गरेको छ। महका साथै मौरीजन्य सामग्रीहरू समेत गरी वाषिर्क करिब ५० लाखको कारोबार हुनेगरेको छ। 

श्रीमान र श्रीमतीको मिहिनेतले अहिले सो क्षेत्रमा रहर लाग्दा २ फर्म छन् । सिंखडा दम्पती पहाडी भेगमा उत्पादन हुने मह निकै राम्रो हुने भएकाले बजारमा समेत राम्रो माग रहेको बताउनुहुन्छ। १० जनासम्मलाई रोजगारी दिनसक्ने अवस्थामा पुगेका उनीहरूलाई प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनामार्फत आधुनिक उपकरणमा सहयोग भएको भए पनि स्थानीय तहले भने बेवास्ता गरेको गुनासो गर्नुहुन्छ । 

आफुहरुले गरेको मिहिनेतले कृषि पेसामा आउन चाहने युवा पुस्ताका लागि प्रेरणा बन्नसकोस् भन्ने उहाँको आशा छ । सिंखडा दम्पतीले गरेको यो व्यवासियक मौरीपालन उदाहरणीय मात्र होईन प्रेरणादायक पनि छ। यस्ता मिहिनेती व्यवसायीलाई व्यवसाय विस्तार र उत्पादनको बजारीकरणमा राज्यले पनि प्रोत्साहन गर्न जरुरी छ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।