.png&w=1000&height=550)
उदयपुर । गाडी चल्ने पक्की पुलमाथि झोलुङ्गे पुल सुन्दा अनौठो लाग्छ तर उदयपुरमा भएको छ यस्तै ।
चौदण्डीगढी नगरपालिका-५ स्थित त्रियुगा नदीको दक्षिणतर्फ शिवाई र उत्तरतर्फ बेल्हा गाउँ जोड्ने पुल अब न मोटरेबल रह्याे न त पुरै झोलुङ्गे पुल। ११ करोड रूपैयाँ लागतको पक्की पुलमाथि ६० लाखको झोलुंगे पुल हेर्नुस् त दृष्यमा यस्तै देखिन्छ नि होइन?
डेढ दशकअघि निर्माण सुरू गरिएको मोटरेबल पक्की पुलको हविगत अहिले यस्तो छ। तर, डिजाइन नै यस्तो बनेको भने होइन। २०६७ सालमा महालक्ष्मी-लोकप्रिय जेभी, कलङ्कीले ९ करोड ७६ लाख रूपैयाँ लागतमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु गरेको पुल ढिलासुस्तीले गर्दा लागत बढेर ११ करोड २७ लाख पुग्यो।
त्यसको ११ वर्षपछि २०७८ सालमा निर्माण सम्पन्न त भयो। तर, धेरैदिन टिक्नै पाएन। सोही वर्षको असारमा बाढीले पुल भाँचियो। १२ पिलर र ११ वटा स्ल्याब रहेको पुलको दक्षिणी भागका दुईवटा पिलर र तीनवटा स्ल्याब भत्किए। निर्माणमा ढिलासुस्ती र कमजोरी गर्ने ठेकेदार र सम्बन्धित जिम्मेवार कर्मचारीलाई कारबाही गर्नेतर्फ कसैले पाइलो सारेन बरू पुल अलपत्र भयो।
गत महिना कोशी प्रदेश सरकारको ६० लाख रूपैयाँ खर्चेर पक्कीपुलको भत्किएको भागमाथि झोलुंगे पुल बनाएको हो। जसबाट पैदल यात्रु आवतजावत गर्न र दुई पांग्रे साइकल, मोटरसाइकल वारपार गर्न मिल्ने भएको छ। ११ करोड खर्चिएको पुल भत्कियो, तर जिम्मेवार कसैमाथि कारबाही भएन।
त्यसमाथि ६० लाख खर्च गरेर झोलुङ्गे पुल थपिँदा यो संरचना विचित्रको बनेको छ। स्थानीय भने पक्की पुल कहिले बन्ला भनेर कुरेर बसेका छन्।