काठमाडौं । इन्धन बचत गर्न शनिबार र आइतबार बिदा दिने निर्णयले सरकारको प्रशासनिक खर्च कम गर्दै बजारमा चहलपहलसमेत बढाउने आकलन गर्न थालिएको छ ।
विज्ञ, व्यवसायी तथा नागरिकहरू समेत सरकारको यो निर्णय दीर्घकालसम्म लागू गर्नुपर्ने सुझाव दिन्छन् । सरकारले शनिबार र आइतबार बिदा लागु गरेसँगै यसबाट दुई दिनमा १५ लाख लिटर इन्धन बचत हुने अनुमान गरिएको छ । साथै ५ दिन कार्यालय खुल्दा यसले इन्धनसँगै अन्य खर्चमा आएको कमीले सरकारको १० देखि १२ प्रतिशत प्रशासनिक खर्च कम हुने अर्थविद्हरूको तर्क छ ।
तर, पर्यटन व्यवसायी र व्यापारीहरू भने बिदाका कारण आर्थिक गतिविधि चलायमान हुने भन्दै आशावान् देखिएका छन् । नेपाल आयल निगमले इन्धन खपत कम गर्न र घुम्न नजान भने पनि विज्ञहरू भने विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै बिदा अवधिमा किनमेल र घुमघाम बढाएर अर्थतन्त्र चलायमान गराउन सक्ने तर्क गर्छन् ।
यता पर्यटन क्षेत्रका विज्ञहरू पनि नेपाली समाजको ट्रेन्डअनुसार बिदाको यो दुई दिन घुम्न जान प्रयोग हुनसक्ने अनुमान गर्छन् । सरकारले कानुन बनाएर पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने भनेकाले यो बिदालाई संकटमोचक मात्र नभएर स्थायी बनाउनुपर्ने उनीहरूको तर्क छ ।
साथै आन्तरिक पर्यटन चलायमान हुने सम्भावना बढेकाले अब नयाँ योजनाहरू सार्वजनिक गर्न पर्यटन बोर्डको आग्रह छ । यता दुईदिने साप्ताहिक बिदालाई नागरिकहरूले पनि खुलेर समर्थन गरेका छन् । तर, यसलाई दीर्घकालसम्म लम्ब्याउन सरकारी कामको उत्पादकत्व बढेको वा नबढेको अध्ययन गर्ने र त्यसपछि निर्णय लिनुपर्ने उनीहरूको सुझाव छ ।
पश्चिम एसियामा फैलिएको द्वन्द्वका कारण अहिले बाह्य पर्यटकहरूमा कमी आएको छ । होटलहरूमा बुकिङ धमाधम रद्द भइरहेको व्यवसायीहरूले बताएका छन् । यस्तो बेला आन्तरिक पर्यटन प्रवर्द्धन अर्थतन्त्र पुनरूत्थानको बलियो विकल्प हुनसक्छ । यद्यपि, योसँगै विद्युतीय सवारीको प्रवर्द्धन पनि आवश्यक हुन्छ ।