यस वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

काठमाडौं । यस वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान छ । चालु आवमा देशको अर्थतन्त्रको आकार भने ६६ खर्बको हुने प्रक्षेपण छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको वार्षिक लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८२-८३ मा मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो। यो सरकारले तोकेको आर्थिक वृद्धिको लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ।

चालु आर्थिक वर्षको चैतसम्मको वास्तविक तथ्यांक र वैशाखदेखि असारसम्मको अनुमानित तथ्यांकका आधारमा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यालयकाअनुसार चालु आवमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण रहेको प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कुल मूल्य अभिवृद्धिमा योगदान र वृद्धिदर विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४ दशमलव ०३ प्रतिशत योगदान दिएको छ । यस्तै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले १४ दशमलव ०९ प्रतिशत योगदान दिएको छ । केन्द्रीय तथ्याङक कार्यालयका अनुसार यातायात तथा भण्डारण क्षेत्रको योगदान ७ दशमलव २३ प्रतिशत र उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत छ । घर, जग्गा कारोबार सेवाले ८ दशमलव०७ प्रतिशत योगदान दिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले गत आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशतको आर्थिक वृद्धि हुँदा यो वर्ष पनि ३ दशमलव ८५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राम्रो भएको बताउनु भयो । उहाँकाअनुसार सुरुमै मौसम प्रतिकूलताले यो आर्थिक वर्षमा चुनौती दिएको थियो । उहाँले जेन–जी आन्दोलनले पनि चुनौती थपिदिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.