काठमाडौं । मार्चदेखि मेसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
यो बेला पदयात्रा, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि विदेशी पर्यटक उल्लेख्य मात्रामा आउनुपर्ने हो । तर, सिजनको मध्य भइसक्दा पनि पोखरामा विदेशी पर्यटक उल्लेख्य देखिँदैनन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेस्रो मुलुकका पर्यटक घट्नुको मुख्य कारण देखिइरहँदा आएका पनि बसाइँ अवधि छोट्याएर फर्किन थालेका छन् ।
पोखराको सेदीमा गत असोज अन्तिम साता सञ्चालनमा आएको चारतारे होटल मिस्टिक माउन्टेनमा मे र अप्रिलको बुकिङ राम्रो थियो । तर, पश्चिम एसियामा द्वन्द्व सुरु हुनासाथ होटलको अकुपेन्सी ह्वात्तै घट्यो । होटलको अकुपेन्सी एकैदिन ९० प्रतिशतसम्म घट्यो भने होटलमा बसेका पर्यटक पनि बसाइँ छोटयाएर जान थालेपछि होटल सञ्चालक अत्तालिए ।
अहिले अप्रिलका लागि बुकिङ सन्तोषजनक छैन । अहिले भारत, चीन, कोरिया, जापानलगायतका देशका पर्यटकले बुकिङ गरे पनि युरोपेली देशका अधिकांश पर्यटकले बुकिङ रद्द गरिरहेका छन् । पोखरा र आसपासमा रहेका करिब १२ सय होटलमा ६ खर्बको लगानी छ ।
१५ हजारले रोजगारी पाएको यहाँका होटलहरूले एकैदिन ४० हजार पाहुना राख्ने क्षमता छन् । अहिले पोखराका होटलको अकुपेन्सी ४५ प्रतिशत मात्र रहेको होटल व्यवसायी बताउँछन् । द्वन्द्वका कारण एकातिर इन्धनको मूल्य बढेर बजार महंगिएको छ भने अर्कोतर्फ सिजनकै बेला पर्यटक आगमन घटेको छ ।
यस सिजनका लागि पनि पर्यटकले बुकिङ नगरेका हैनन राम्रै गरेका थिए तर पछिल्लो पश्चिम एसियाको द्वन्द्वले हवाई मार्ग प्रभावित हुँदा आउन सकेनन् । बुकिङ गरेर आएका पर्यटक पनि लामो र महंगो दूरीको हवाई यात्रा पार गरेर आउन बाध्य छन् ।विदेशीहरू घुम्ने योजना बनाएसँगै जाने ठाउँ, हवाई टिकट र बस्ने होटलको तय केही महिनाअघि नै गर्छन् । तर, हवाई उडान अवरुद्ध हुँदा युरोपेली पर्यटकले धमाधम बुकिङ्ग रद्द गरिरहेका छन् ।
यो बेला लालीगुराँस फूल्ने र हिमालमा सेतम्मे हिउँ हुने भएकाले पदयात्रामा जान विदेशी पर्यटक उल्लेख्य आउने गर्दथे । पदयात्रामा आउनका लागि बुकिङ गरेका पाहुनालाई हवाईमार्गको अनिश्चितताले प्रभावित पारेको छ । पोखरा आउने राजमार्गहरूको स्तरोन्नति र देशको राजनीतिक स्थिरतासँगै पर्यटक उल्लेख्य मात्रमा बढने अपेक्षा पर्यटन व्यवसायीहरूको थियो । तर, पिक सिजनमा पश्चिम एसियाको द्वन्द्वका कारण उल्लेख्य पर्यटक नआउँदा पिक सिजन कुरेर बसेका पर्यटन व्यवसायीलाई थप चिन्ता बढाइदिएको छ ।