
काठमाडौं । यो विश्वकपमा अहिलेसम्मको प्रदर्शन हेर्ने हो भने फ्रान्स विजेताको स्पष्ट दाबेदार हो । तर, अन्तिम ४ मा उसलाई स्पेनको चुनौती छ । जो अर्को दाबेदार हो ।
अमेरिकाको डालासमा हुने यो खेल बुधबार नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । के फ्रान्सले स्पेनसँग युरो कप २०२४ को हारको बदला लिनसक्ला ? अनि के स्पेनले १६ वर्षपछि फाइनलको भिडन्तमा पुग्नसक्ला ?
फ्रान्स यसपालि जर्मनी र ब्राजिलपछि लगातार तेस्रो विश्वकप फाइनल खेल्ने टोली बन्ने संघारमा छ । ऊ कति सफल हुन्छ त्यो स्पेनले दिने चुनौतीमा निर्भर रहन्छ । तर, किलियन एम्बाप्पे, ब्राड्ली बारकोला, ओउसमान डेम्बेले, डेजिरे डुए र माइकल ओलिसेको उपस्थितिले फ्रान्सको टिमलाई पन्छाउन स्पेनलाई भने सजिलो छैन ।
जारी विश्वकपमा फ्रान्सले १६ गोल गरेको छ । समूह आईमा लगातार ६ खेल जित्दै उसले शीर्ष स्थान हासिल गरेको थियो । त्यसपछि उसले नकआउट चरणमा स्विडेन, पाराग्वे र मोरक्कोलाई पराजित गर्दै सेमिफाइनल तय गरेको हो ।
स्विडेनलाई सहजै हराएपछि पाराग्वेको कठिन चुनौती पार गरेको फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई हरायो । खेलमा कप्तान एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी गुमाए पनि २-० को जित दिलाउन महत्त्वपूर्ण सहयोग गरेका थिए ।
रक्षात्मक शैली अपनाउने प्रशिक्षक डिडिएर डेसच्याम्पले विश्वकपमा भने टोलीलाई आक्रामक रूपमा खेलाइरहेका छन् । १४ वर्ष लामो कार्यकालको अन्त्यतर्फ रहेका उनले अब आफ्नो २६औँ विश्वकप खेलमा प्रशिक्षकको भूमिका निभाउनेछन्। यो खेलसँगै उनले हेल्मुट शोनको कीर्तिमान पनि तोड्नेछन् ।
स्पेनविरुद्ध हेड टू हेडमा इतिहास पनि फ्रान्सकै पक्षमा देखिन्छ। फ्रान्सले विश्वकपका पछिल्ला चारवटै सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाएको छ । जसमध्ये पछिल्ला तीन खेलमा उसले कुनै गोल पनि खाएको छैन । साथै, विश्वकपमा स्पेनसँग भएको एक मात्र भेटमा फ्रान्सले २० वर्षअघि ३–१ को पुनरागमन जित निकालेको थियो ।
यद्यपि, पछिल्ला भेटहरू भने स्पेनको पक्षमा छन् । स्पेनले फ्रान्ससँगका पछिल्ला १० मध्ये ७ खेल जितेको छ । विशेषगरी युरो २०२४ को सेमिफाइनलमा २–१ तथा गत वर्षको यूईएफए नेसन्स लिगको फाइनल चरणमा ५–४ को रोमाञ्चक जित उल्लेखनीय छन् ।
उक्त खेलमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए भने लमिन यमालले दुई तथा मिकेल मेरिनोले एक गोल गरेका थिए। यस विश्वकपमा स्पेनका मेरिनो, ओयरजबालले उत्कृष्ट प्रदर्शन गरेका छन्। अर्कोतर्फ पेद्री, फाबियन रुइज र डानी ओल्मोलाई उच्च प्रदर्शनको दबाब छ।
यसैगरी, यमालबाट पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। जारी विश्वकपको यमालबाट सोचेजस्तो प्रदर्शन भएको छैन र अहिलेसम्म उनले एक गोल मात्रै गरेका छन् । तर, यमाल आफ्नो गोलभन्दा टिमको जितमा विश्वास गर्ने बताउँछन् ।
आयरजबालले जारी विश्वकपमा चार गोल गर्दा मेरिनोको प्रदर्शनले स्पनेलाई बेल्जियमविरुद्ध जित हात पार्न सहयोग मिलेको थियो । कुनै खेलाडी उत्कृष्ट प्रदर्शनका लागि केहीले भने कस्तो पुनरागमन गर्छन् भन्ने हिसाबले, स्पेनका सबै खेलाडी आजको खेलको प्लेयर्स टू वाच हुनेछन् ।
स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई हराएको थियो भने अन्तिम १६ मा पोर्चुगलविरुद्ध भावनात्मक र कठिन जित हात पारेको थियो । क्वार्टरफाइनलमा उसले बेल्जियमको एउटा पुस्ताको सपना अन्त्य गरेर अन्तिम ४ मा आइपुगेको हो । स्पनले रुस विश्वकपपछि २७ मध्ये एक खेल मात्रै हारेको छ ।
प्रशिक्षक लुइस डे ला फुन्टेले टिम सम्हालेपछि उनले पछिल्लो १३ मध्ये १२ खेल जितेका छन् । यता फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पछिल्लो अभ्यास सत्रमा पूरा अभ्यास गरेका छैनन् । उनको एंकलको चोट अझैसम्म पनि ठिक भएको छैन ।
यद्यपि उनी सेमिफाइनलको सुरुआती रोजाइमा हुनेछन् । यदि औरेलियन छुवामेनी खुट्टाको चोटबाट निको भएर पूर्णकालीन् खेलका लागि फर्किए भने उनी र मनु कोनेमध्ये एकले मध्यपङ्क्तिमा स्थान पाउनेछन् ।