प्यूठान । प्यूठानको मुख्य बजार क्षेत्रमा दैनिकजसो हुने जाम र सडक दुर्घटना कम गर्न बेलुवा क्वाडी, बाग्दुला सडकको स्तरोन्नति सुरू भएको छ ।
संघीय सरकार र प्यूठान नगरपालिकाले उक्त सडक स्तरोन्नतिको काम सुरू गरेका हुन् । प्यूठान नगरपालिका क्षेत्रमा पर्ने सडकखण्ड बेलुवा, जुम्री बाग्दुला खण्ड जिल्लाको सबैभन्दा व्यस्त र बजार क्षेत्रमा पर्ने बेलुवा, क्वाडी, जुम्री, बाग्दुला, सडक खण्डमध्ये १८४० मिटर सडकको स्तरोन्नतिको काम अहिले धमाधम चलिरहेको छ ।
क्वाडीदेखि चितिखोलासम्म एक खण्ड र चितिखोला बुढिखोला अर्को गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ। सडकको दाँयाबाँया साढे ७ साढे ७ मिटर गरी १५ मिटर सडक स्तरोन्नति गर्ने गरी काम भइरहेको हो। संघीय सरकार र प्यूठान नगरपालिकाले ६ करोड बजेटमा दुई खण्डमा सडक विस्तारको काम भैरहेको हो ।
बढ्दो सहरीकरण र बढ्दो सवारी चापले दैनिक सवारी आवागमनमा समस्या भएपछि गत वर्षबाट बेलुवा जुम्री, बाग्दुला सडकको स्तरोन्नतिको काम सुरू गरिएको हो । सडक विस्तारसँगै सडक क्षेत्रमा पर्ने घरहरू धमाधम हटाउने काम भइरहेको छ । बढ्दो सवारी चाप र समय समयमा हुने जामको समस्या झेल्दै आएका यस क्षेत्रका स्थानीय पनि सडक विस्तार भइरहँदा सक्रिय सहयोग गरिहेका छन् ।
सडक क्षेत्रमा पर्ने घरहरू स्वयम् घरधनीले हटाउने काम गरेका छन् । जसले सडक विस्तारमा झनै सहजता भएको छ । सडकको मापदण्डभित्र पर्ने संरचना हटाउन स्थानीयले सहयोग गरेपछि सडक विस्तारले गति लिएको छ। बेलुवादेखि चितिखोलासम्म १ किलोमिटर ४ सय मिटर सडक निर्माण सडक डिभिजन कार्यालयले संघीय ३ करोडमा गरिरहेको छ।
चितिखोला बुडिखोला ४४० मिटर खण्डमा प्यूठान नगरपालिकाले काम अघि बढाएको छ । सोही क्षेत्रमा ६८ वटा संरचना सडकको क्षेत्राधिकारभित्र पर्ने भएपछि हटाउन नगरपालिकाले सूचना जारी गरिएको छ । स्तरोन्नति भएसँगै साँघुरो सडकमा बढ्दो सवारी चापले दैनिकजसो हुने दुर्घटना कम गर्ने अपेक्षा छ । त्यस्तै पैदल यात्रुका लागि सुरक्षित फुटपाथ निर्माण हुनेछ ।