
काठमाडौं । सरकारले एक सय बुँदाको कार्यसूची निकालेपछि बजार एक सय ६८ अंकले घटेको छ ।
सेयर तथा व्यक्तिको बैंक खाताको सम्पत्ति लगत राख्ने सरकारले योजना सार्वजनिक गरेसँगै लगानीकर्ताले २ खर्ब ७९ अर्ब गुमाएका छन् । यसमा सरकारको योजनाभन्दा पनि केही लगानीकर्ताले सम्पत्ति शुद्धिकरणका कारण बजार घट्छ भनेर हल्ला फिजाइ सेयर खरिद गर्ने खोजेकाले बजारमा त्यसको नकारात्मक प्रभाव परेको हो ।
बजार यसरी एकाएक घटेपछि अर्थ मन्त्रालयले भने सम्पत्तिको लगतमा पारदर्शीता कायम गर्न लागेकाले यसमा कोहि डराउन वा आात्तिहाल्नु नपर्ने जनाएको छ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपश्चात् अस्वाभाविक वृद्धिका कारण पूरै कारोबार नभइ बन्द भएको बजार त्यसपछि विस्तारै उकालो लागेको थियो ।
चुनावअघि २७ सय १२ मा रहेको सेयबजार परिरसूचक चैत १० गते २९ सय ६० अंकसम्म पुगेको थियो । तर, चैत १३ गते सरकारले सरकारको १ सय दिने कार्यसूची निकालेपछि भने बजार १ सय ६८ अंकले घटेको हो । यो बिचमा लगानीकर्ताको सम्पत्ति पनि २ खर्ब ७९ अर्बले घटेको छ ।
सरकारले सार्वजनिक गरेको १ सय बुँदाको कार्यसूचीको ४५ नम्बरमा भ्रटाचार नियन्त्रणलाई प्रणालीगत बनाउन राष्ट्र बैंकले १ सय दिनभित्र बैंक खाता डिजिटल वालेट र सेयर लगानी अन्य वित्तीय गतिविधिहरुलाई समेट्दै डिजिटल सम्पत्ति लगत स्थापना गर्ने भनिएको छ ।
यहि बुँदालाई लिएर बजारमा अब बजार घट्छ भन्ने आधारमा साना लगानीकर्तामा त्रास फैलाइएको र त्यसले बजार घटाएको लगानीकर्ताहरू बताउँछन् । बजार घटाएर किन्न खोज्ने केही लगानीकर्ताले हल्ला फैलाएकै आधारमा बजार घटेको हो । लामो समय २७ सय आसपासमा रहेको बजार २९ सय पुगेपछि सरकारको कुरालाई लिएर हल्ला फैलाएर बजार घटाउन खोज्नेहरू सक्रिय भएको सेयर विश्लेषक तथा लगानीकर्ताहरू बताउँछन् ।
पूर्व प्रधानमन्त्री तथा विवादास्पद व्यवसायीको छबि बनाएका दिपक भट्ट पक्राउ गरेसागै सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर केही लगानीकर्तामा त्रास फैलिएको छ । तर, सहि तरिकाले सम्पत्ति आर्जन गरी सेयरमा लगानी गरेकाहरू यसबाट डराउन नहुने र यस्ता हल्लाका आधारमा लगानी गर्न छोड्न नहुने विज्ञ बताउँछन् ।
शेयर बजार एकाएक घटेपछि अर्थमन्त्रालयले पनि यस विषयमा छलफल गरिरहेको छ । सरकार पारदर्शीताको पक्षमा रहेकाले डराउन पर्ने कुनै कारण नरहेको अर्थ मन्त्रालयले जनाएको छ ।