
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले उखु खरिद गरेर दुई वर्षसम्म भुक्तानी नगरेपछि किसान मर्कामा परेका छन्।
अघिल्लो वर्ष उधारोमा इन्दिरा सुगर मिललाई उखु बिक्री गरेका यस क्षेत्रका किसानको ६ करोड रुपैयाँ उद्योगले भुक्तानी गरेको छैन। करोडौ रकम भुक्तानी गर्न बाँकी रहेको उद्योग यसवर्ष सञ्चालनमा नै नआएपछि मिहिनेत र लगानी दुवै खेर जाने पिरलोमा किसान छन्।
उद्योगले समयमा नै भुक्तानी नदिएको भन्दै किसानले प्रतापपुर गाउँपालिकामा गुनासो गरेपछि पालिकाले तत्काल किसानको बक्यौता रकम भुक्तानी गर्न पत्राचार गरे पनि उद्योगले माग सुनुवाइ गरेको छैन्। प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले जिल्लाका अन्य चिनी उद्योगले किसानले रकम क्रमश भुक्तानी दिए पनि इन्दिरा सुगर मिलले भने ६ करोडभन्दा बढी रकम भुक्तानी नगरेको बताउनुभयो।
अघिल्लो आर्थिक वर्षमा उद्योगले दिनुपर्ने १२ करोड रुपैयाँमध्ये ६ करोड भुक्तानी गरे पनि अझै ६ करोड भुक्तानी गर्न बाँकी छ। त्यहाँ लुम्बिनी, बागमती खाडसारी र तत्व फर्मा प्रालिले यसवर्ष उखु क्रसिङ गरेपनि इन्दिरा सुगर मिल भने सञ्चालनमा आएन।