
धनुषा । मधेश प्रदेशमा गहुँ एक प्रमुख हिउँदे बाली हो।
गहुँ खेतीको क्षेत्रफल र उत्पादनका हिसाबले मधेश मुलुकमै अग्रणी स्थानमा रहे पनि सिँचाइ र मलखाद अभाव तथा प्रकृति प्रकोपका कारण उत्पादनमा बर्षेनि उतारचढाव हुँदै आएको छ। यस वर्ष गहुँमा दाना नलागेर किसानहरू निराश भएका छन्। मधेशमा ठूलो मात्रामा गहुँ खेती हुने भए पनि व्यावसायिक भन्दा पनि घरगुजाराका लागि उत्पादन हुने गरेको छ।
धनुषामा धानपछिको दोस्रो मुख्य बालीको रूपमा गहुँ हो । यहाँ यो हिउँदमा झन्डै ३४ हजार हेक्टरमा गहुँ खेती गरिएको छ। तर, गहुँ छर्ने बेलामा र चैतको सुरूमै हावाहुरीसँगै परेको पानीका कारण बालीमा राम्रो दाना नै लागेको छैन। चर्को मूल्य तिरेर ट्रेक्टरबाट गरेको जोताइ, दमकलबाट खेतमा लगाएको पानी, मलखाद, कडा परिश्रमको लागतसमेत नउठ्ने देखेर किसानहरू निकै चिन्तित छन्।
हावा चलेपछि सबै सुकेको छ । गहुँमा दाना लागेको छैन । सबै कालो भएको छ । गृहस्थहरूको लागत लागे पनि उपलब्धी केही हुने छैन । धनुषामा आर्थिक वर्ष २०८०/०८१ मा प्रतिहेक्टर २ दशमलव ९० मेट्रिक टनको औसतले ३३ हजार ५ सय हेक्टरमा ९७ हजार १ सय ५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
२०८१/०८२ मा ३ दशमलव १० मेट्रिक टनको दरले एक लाख तीन हजार आठ सय पचास मेट्रिक टन गहुँ उत्पादन भएको थियो । धनुषामा मात्र नभइ प्रतिकूल मौसम, किराको प्रकोप, समयमै गुणस्तरीय बीउ नपाउनु, सिँचाइ र मलखाद अभावजस्ता कारणले हरेक वर्ष उत्पादनमा उतारचढाव देखिन्छ । तर, किसानको यस्तो पीडासँग कृषि अधिकारी भने अनविज्ञ छन्।
खेतीपातीका लागि यहाँको जग्गा उर्वर रहेको र देशैभरिमा सबभन्दा बढी गहुँ खेती मधेशमा हुँदै आए पनि सरकारसँग आधिकारिक तथ्यांक नै छैन। मधेश प्रदेशको कृषि विकास निर्देशनालयसँग २०८०/०८१ को मात्र तथ्यांक छ। उपलब्ध तथ्यांकअनुसार २ वर्षअघि मधेशको आठै जिल्लामा प्रति हेक्टर ३ दशमलव ३७ मेट्रिक टनको हिसाबले १ लाख ८७ हजार ४ सय ३२ हेक्टरमा ७ लाख ३१ हजार ७० मेट्रिक टन गहुँ उत्पादन भएको थियो।
गहुँमा मुख्यतया कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन 'बी' कम्प्लेक्स भरपुर मात्रामा पाइन्छ। यसका साथै गहुँमा आइरन, म्याग्नेसयिम, पोटासियमजस्ता स्वास्थ्यवर्धक तत्वहरू पाइने हुनाले पाचन प्रणाली सुधार गर्न र शक्ति प्रदान गर्न यो निकै लाभदायक मानिन्छ।