
काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेसनल हर्टीकल्चर एक्स्पो- २०८२ गर्ने भएको छ ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो । मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिनुभयो ।
कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पुर्याउने उहाँको विश्वास छ । उहाँकाअनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने उहाँले बताउनु भयो । मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, तीनवटा आधिकारिक स्टल र चारवटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने छन् ।
उहाँकाअनुसार मेलामा करिब ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट एक-एक जना व्यवसायीलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ । संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्ब ४३ करोडको कारोबार गर्ने गरेको छ ।
देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरूले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।