
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ ।
महामन्त्री प्रदीप पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिनुभयो ।
सातै प्रदेशमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषणसमेत गरिने जनाइएको छ ।
उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित प्रदेशमा तोकिएका संयोजकको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सहभागिता रहनेछ ।
कार्यक्रमको व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने महामन्त्री पौडेलले उल्लेख गर्नुभयो । कार्यक्रमको तालिकाअनुसार यही चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा. डिला सङ्ग्रौला पन्त, चैत २५ गते मधेश प्रदेशको जनकपुरमा हुने कार्यक्रमका लागि फरमूल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ ।
यसैगरी, बागती प्रदेशको हेटौंडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा यही चैत २७ गतेको कार्यक्रमका लागि देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा चैत २९ गतेको कार्यक्रमका लागि योगेन्द्र चौधरीलाई प्रतिनिधि तोकिएको छ ।
यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा आगामी वैशाख ३ गते हुने कार्यक्रमका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले यस कार्यक्रममार्फत निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी सुदृढीकरण, सङ्गठन विस्तार तथा आगामी रणनीति तय गर्ने लक्ष्य राखेको जनाएको छ ।