
दोलखा । दोलखामा वन क्षेत्रको जग्गा भोगाधिकारको बाटो खुलेपछि १० महिनादेखि बन्द भएका स्वदेशी लगानीमा निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनाको निर्माण फेरि सुरू भएको छ।
जनताको जलविद्युत् कार्यक्रमअनुसार निर्माणाधीन तामाकोशी पाँचौं आयोजनाको काम वन क्षेत्रको विवादका कारण बन्द भएको थियो । जग्गाको भोगअधिकार पाएसँगै आयोजनाको कामले गति लिएको हो । तामाकोशी जलविद्युत् आयोजना पाँचौंका कार्यकारी प्रमुख रामप्रसाद यादवले निकुञ्ज, संरक्षण क्षेत्रमा पूर्वाधार तथा विकासका संरचना बनाउने कानुन संशोधनसहित आएपछि भोगाधिकारको आएसँगै आयोजनाको काम सुरु भएको बताउनुभयो ।
९९ दशमलव ८ मेगावाटको तामाकोसी पाँचौं आयोजनले वन क्षेत्रको जग्गा खरिदबापत ७ करोड र रोयल्टी ४ करोड बुझाएको उहाँले बताउनुभयो । सबै बाधा अड्चन फुकेसँगै आयोजनाको कामले तिव्रता पाउने उहाँले बताउनुभयो । २०८५ असार मसान्तसम्म आयोजनको काम सकेर उत्पादन थालिने छ ।
तामाकोशी पाँचौं आयोजनाको अडिट १ र विद्युत् गृहको काम भइरहे पनि मुख्य २,३ र ४ नम्बर अडिट टनेलको काममा अवरोध थियो । आयोजनको सिभिलतर्फको निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । यस्तै लट टु अन्तर्गत हाइड्रो र इलोक्ट्रो मेकानिकल बोलपत्र आउँदो सातासम्म निकाल्ने तयारी छ ।
यस्तै माथिल्लो तामाकोशी आयोजनाअन्तर्गतको २० मेगावाटको निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजनाको काममा पनि वन क्षेत्रको अवरोध हटेको छ ।