काठमाडौं । पश्चिम एसियामा जारी तनावका कारण बिटुमिन आपूर्तिमा असहज भएसँगै एकाएक निर्माण सामग्रीको भाउ बढेपछि विकास निर्माणका काम ठप्प भएका छन् ।
महंगी बढ्दा ८० प्रतिशत विकास निर्माणका काम रोकिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले सडक पिच गर्न प्रयोग हुने बिटुमिनको मूल्य एकाएक वृद्धि भएको छ । पश्चिम एसियामा द्वन्द्व सुरु हुनुअघि प्रतिकेजी ८५ देखि ९५ रुपैयाासम्म रहेको बिटुमिनको मूल्य अहिले १ सय ३५ रुपैयाँ पुगेको छ ।
यसरी ४० देखि ५० रुपैयाँसम्म बढेको बिटुमिनको मूल्यले निर्माण लागत बढाएको छ । यसबाहेक अहिले पश्चिम एसियाका विभिन्न देशबाट भारत हुँदै नेेपालमा आउने बिटुमिनको उपलब्धतासमेत छैन । जसका कारण केही आयोजनाले निर्माणको काम अघि बढाउन सकेका छैनन् ।
निर्माणाधीन अवस्थामा रहेको नागढुङ्गा-मुग्लिङ सडकमा बिटुमिन ३ सय मिटरका लागि मात्र स्टक रहेकाले कालोपत्रेको काम रोकिने अवस्थामा पुगेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहका अनुसार अहिले निर्माण क्षेत्रमा २० प्रतिशत मात्रै काम भएको छ ।
निर्माण सामग्रीको मूल्य महंगो हुनुका साथै उपलब्धतामा कमि आएपछि ८० प्रतिशत काम ठप्प छ । एक महिनाअघि अर्थात् द्वन्द्व सुरु हुनुअघि ७२ रुपैयाँ प्रतिकेजी रहेको डन्डीको भाउ अहिले ९५ रुपैयाँ पुगेको छ भने सिमेन्ट पनि प्रतिबोरा ५० देखि ६० रुपैयाा महंगो भएको छ ।
बढेको मूल्य समायोजन नहुँदासम्म निर्माणअघि बढाउन नसकिने व्यवसायी बताउँछन् । इन्धनमा भएको भारी मूल्य वृद्धिका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नतिको काम पनि प्रभावित भएको छ । इन्धनको भाउ बढेसँगै बालुवा, गिट्टी, माटोलगायत निर्माण सामग्री ढुवानी र सडक विस्तारको काममा प्रत्यक्ष असर परेपछि मधेश प्रदेशमा भइरहेको ६ लेन र ४ लेनको सडक स्तरोन्नतिका काम पनि प्रभावित भएका छन् ।
मंसिरदेखि जेठसम्म मुख्य विकास निर्माणका काम हुने सिजन हो । यो बेलामा निर्माणका काम अघि बढाउन सकिएन भने यसले पूर्वाधार विकास मात्रै नभइ समग्र अर्थतन्त्र नै प्रभावित हुन्छ । जसको सिधा असर आमसर्वसाधारणलाई मात्रै नभइ सरकारको राजस्वमा समेत पर्छ ।