
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित चखेवामा करिब ९४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भई स्थानीय खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
गोर्खा वेलफेयर ट्रष्ट (नधक)मार्फत निर्माण सम्पन्न उक्त योजना शनिबार आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । यस खानेपानी योजनाबाट स्थानीय बासिन्दालाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम संयोजक राजन राईले योजनाले भोजपुर जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयाे । उहाँले योजनाको दीगो सञ्चालनका लागि उपभोक्ता समितिको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयाे ।
यस्तै, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले खानेपानी जस्तो आधारभूत पूर्वाधारले ग्रामीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उहाँले यस्ता योजनाले स्थानीय नागरिकको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ । हाल उक्त योजनामार्फत करिब ४१ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
योजनाको सञ्चालन तथा व्यवस्थापन स्थानीय खानेपानी उपभोक्ता समितिका सचिव आइकुमार राईले गर्ने जानकारी दिनुभयाे ।