पीएम कप : सुदूरद्वारा लुम्बिनी पराजित

चैत्र १६, २०८२ |खेल ब्युरो
पीएम कप : सुदूरद्वारा लुम्बिनी पराजित

काठमाडौं । पीएम कपमा साेमबार वीरगन्जमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले हराएको छ । 

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले एक सय ६९ रनको लक्ष्य रक्षा गर्दै प्रतियोगितामा तेस्रो जित हाासिल गरेको हो । नारायणी क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ ओभर ४ बलमा अलआउट भएर एक सय ६८ रन बनाएको थियो । 

अभिषेक शर्मा १७, प्रकाश पाण्डे १४, खडक बोहरा १० र किरण ठगुन्ना २० रन बनाएर बाहिरिएका थिए । पाँचौँ नम्बरका दीपक बोहरालाई सर्वाधिक ३० रन बनाएको अवस्थामा अजय चौहानले बोल्ड गरिदिए । अन्तिममा हेमन्त धामीले २९ रन जोडेर स्कोरलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याएका थिए । 

लुम्बिनीका सन्तोष यादव र अजयले समान ४-४ विकेट लिएर कसिलो बलिङ गरेपछि सुदूर ठूलो स्कोर बनाउनबाट रोकिएको थियो । उनीहरूले सुदूरको शीर्ष क्रमलाई पनि साझेदारी गर्न दिएनन् । जवाफमा लुम्बिनी प्रदेश ४० ओभर २ बलमा १ सय ५६ रन बनाएर अलआउट भयो । 

चार विकेट गुमाउँदा ३५ रन मात्रै बनाएर उसले कमजोर सुरुआत गरेको थियो । तर, पाँचौँ नम्बरका सन्तोष यादवले ६७ रन बनाएर खेललाई जीवन दिने प्रयास गरेका थिए । लुम्बिनीका ध्रुव सुनारले ३६ रन जोड्दै प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याए पनि बाँकी ब्याटरले उनलाई साथ दिन सकेनन् । खडक बोहराले महत्त्वपूर्ण तीन विकेट लिएर सुदूरलाई तेस्रो जितको हकदार बनाएका हुन् । शेर मल्लले तीन विकेट लिएका थिए ।