
काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले पारजित गरेको छ ।
सोमबार जनकपुरमा सम्पन्न भएको खेलमा १ सय ३० रनको लक्ष्य २४ ओभर ५ बलमा नै पूरा गरेर मधेशले तेस्रो जित हात पारेको हो । रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेको कर्णालीले पहिले ब्याटिङ गर्दै ३१ ओभर २ बलमा अल आउट भएर १ सय २९ रन बनाएको थियो ।
ओपनर रविन्द्र साहीले ४० रन जोडे पनि बाँकी खेलाडीको साथ पाउन सकेनन् । अर्को एन्डमा सुनिल धमला एक र अरविन्द घर्ती शून्यमा आउट भए । विपिन रावलले १८ र अर्जुन घर्तीले २४ रन बनाए पनि कर्णालीका ब्याटरले मधेसका बलरको पेस धान्न संघर्ष गर्नुपर्यो ।
मधेशका लागि आशिष बैथाले १० ओभरमा ३४ रन मात्रै खर्चिएर चार विकेट लिए । विशाल पटेल र अरनिको यादवको नाममा २-२ विकेट रह्यो । जवाफमा २४ ओभर ५ बलमा ५ विकेट गुमाएर मधेशले एक सय ३१ रन बनाएर लक्ष्य पूरा गर्यो । मधेशका ओपनर मयन यादव र निरज यादवले ५० रनको साझेदारी गरेका थिए ।
त्यसैगरी, मयन २४ र निरज ३८ रनमा आउट भए । पवन सर्राफले १७ र अरनिकोले ३२ रन जोडेर आफ्नो टिमलाई जित दिलाएका हुन् । कर्णालीका दीपेन्द्रले ८ ओभरमा ४० रन खर्चिएर तीन विकेट लिए पनि कर्णालीलाई जित दिलाउन सकेनन् । आजको जितसँगै सात अंक जोडेको मधेश अंक तालिकाको शीर्षस्थानमा छ ।