
धनकुटा । धनकुटामा पछिल्लो समय लघु, घरेलु र साना उद्योग तथा वाणिज्य फर्महरू लगतकट्टा र खारेजीको दर निरन्तर बढिरहेको छ।
पछिल्ला तीन आर्थिक वर्षमा धनकुटामा नयाँ उद्योग स्थापना र सञ्चालनको सञ्चालनको अवस्था निराशाजनक देखिएको हो। आर्थिक वर्ष २०८०/०८१ मा धनकुटामा १ सय २२ नयाँ उद्योग दर्ता हुँदा ८४ वटा खारेजीमा परेका थिए। वाणिज्यतर्फ ३९ नयाँ फर्म दर्ता हुँदा २८ वटा खारेजीमा परेका हुन्।
२०८१/०८२ मा ९९ नयाँ उद्योग दर्ता हुँदा १ सय ४१ उद्योग खारेजीमा परेका थिए। वाणिज्यतर्फ ३५ नयाँ दर्ता हुँदा ९५ फर्म खारेजीमा परेको घरेलु कार्यालयको तथ्याङ्क छ। चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म ७७ नयाँ उद्योग दर्ता हुँदा ६२ वटा खारेजी भइसकेका छन्।
यस्तै वाणिज्यतर्फ पनि २७ नयाँ दर्ता हुँदा १२ वटा खारेजीमा परेका कार्यालयले जनाएको छ। स्थानीय र प्रदेश संरचना सञ्चालनमा आएपछि अनुदानकै लागि उद्योग खोल्ने बढेको र अहिले बन्द हुन थालेको बुझाइ छ। स्थानीय स्तरमा खुलेका लघु, घरेलु र साना उद्योग धमाधम बन्द हुँदै जानुमा उत्पादनको बजार अभाव, लगानी क्षमता, कच्चा पदार्थ आपूर्ति, आवश्यक प्रविधिको अभाव तथा दक्ष जनशक्ति अभावलाई कारण ठानिएको छ।
कोरोना महामारी, राजनितिक अस्थिरता र विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दिले सानो लगानीका घरेलु उद्योग सञ्चालनमा नकारात्मक असर पारेको छ। व्यवसायिक उत्पादनमा लाग्न नसकेका उद्योगीहरूले दर्ता र नवीकरण गर्नुभन्दा खारेजीको बाटो रोजेका हुन्।
सहुलियतपूर्ण ऋण, नियमित कच्चापदार्थ आपूर्ति, बजार पहुँचको अभावका कारण लघु, घरेलु र साना उद्योग बन्द हुने क्रम बढेको घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी बताउँछन्। धनकुटामा हाल उद्योगतर्फ ४ हजार २ सय ५९ र वाणिज्यतर्फ १ हजार ७ सय १८ गरी जम्मा ५ हजार ९ सय ७७ फर्म सञ्चालनमा छन्।
लघु, घरेलु तथा साना उद्योगको सञ्चालन र दीर्घकालीन स्थायित्वका लागि सहुलियतपूर्ण ऋण, सीप विकास, प्रविधि र बजार सुनिश्चितता जति आवश्यक छ, त्यत्तिकै उद्यमीको सोच र प्रतिबद्धता पनि निर्णायक हुन्छ।