
वीरगन्ज । रूग्ण अवस्थामा पुगेको कृषि औजार कारखाना सञ्चालन गर्ने हिम्मत जुटाएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको लोकप्रियताले उहाँलाई प्रतिनिधि सभाको सदस्य बनाएको छ ।
सरकारी सहयोग नपाएपछि किताब बेचेरै उहाँले कारखाना सञ्चालनमा ल्याएर कृषि औजारको व्यवसायिक उत्पादन र बिक्री सुरू गर्नुभएको छ । उहाँले सञ्चालन गरेको कारखाना हेर्न महाबिर पुनलाई निर्वाचित गराउने म्याग्दीका सर्वसाधारण अहिले दिनहुँजसो वीरगन्ज पुग्ने गरेका छन् ।
वीरगन्जस्थित कृषि औजार कारखानाको अवालोकन गर्दै गरेको सर्वसाधारणको यो टोली म्याग्दीबाट वीरगन्ज आईपुगेका हुन् । प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले प्रचारको क्रममा आफूले किताब बेचेर वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गरेको बताउनुभएको थियो ।
पुनको कुरा सुनेर उनलाई अत्यधिक मतले विजयी बनाएका म्यान्दीका सर्वसाधारण उहाँले प्रचार गरेअनुसार काम गरे नगरेको हेर्न टोली नै बनाएर यसरी वीरगन्ज पुगेका हुन् । म्याग्दीबाट वीरगन्जको कृषि औजार कारखाना अवलोकन गर्न पुगेको यो टोलीलाई कारखानाका प्रमुख मेकानिकल इन्जिनियर रितेश देवले कारखानाको स्थलगत अवलोकन गराउँदै कारखानाले अहिलेसम्म उत्पादन गरेका कृषि औजारहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको छ ।
चुनावको बेला गरिने प्रचारको क्रममा उम्मेदवारले गरेको बाचा कसम र कामको वास्तविकताको परिक्षण गर्न दुरदराजको गाउँबाट आफ्नै खर्चमा यति टाढा पुग्ने सर्वसाधारण मतदाताको यो टोलीले करिब दुई घन्टा लगाएर कारखानाको बस्तुगत अवस्थाको जानकारी लियो ।
चुनावको बेला उम्मेदवारले बोलेका कुरा र गरेको कामको बिच तालमेल हेर्दा यिनीहरू आफूले दिएको भोटले न्याय पाएको बताएका छन् । २०२४ सालमा सञ्चालन भएर २०५९ सालदेखि बन्द भई रूग्ण अवस्थामा पुगेको कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने अठोट लिएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले २०७९ साल कार्तिक महिनादेखि कारखाना सन्चालनको जिम्मा लिनुभएको थियो ।
पुनको तीन वर्षको अथक प्रयासले यो कारखानाले करिब ३० प्रकारका कृषि औजारहरूको व्यवसायिक उत्पादन सुरू गरी अहिले १० प्रकारका कृषि औजारको बिक्री समेत गरिरहेको छ । कारखाना सञ्चालनका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी राष्ट्रिय आविष्कार केन्द्रले १० वर्षसम्म आफैंले सञ्चालन गर्ने र पछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, पहिलो वर्षमै खर्च गर्न सरकार पछि हटेपछि कारखाना सञ्चालनमा समस्या देखियो ।
कारखाना सञ्चालनका लागि रकमको जोहो गर्न आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन आफ्नो आत्मकथाको किताब बिक्री गरी अहिलेसम्म यो कारखानामा करिब तिन करोड रूपैयाँ लगानी गरिसक्नु भएको छ ।