
काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दति निक्षेपमा थुप्रिएर बस्न थालेको भन्दै त्यसले संस्थाको आम्दानीमा भारी गिरावट आउने खतरा बढेको बताउनुभएको छ ।
नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्कीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दति निक्षेपको ब्याजदर पनि निकै कम भएको कारण कोषको ठूलो फन्ड निष्क्रिय रहने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँकाअनुसार यस्तो अवस्थामा संस्थाको आम्दानीमा ठूलो गिरावट आउने खतरा रहेको र त्यसलाई गम्भीरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ । कार्कीले लगानी विविधिकरणमा समेत समस्या देखिएको उल्लेख गर्नुभयो । लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको बताउनु भयो ।
कर्जाको माग घट्दा कोषले तय गरेको लगानी विविधिकरण गर्ने उद्देश्यमा चुनौती थपिएको उहाँको भनाइ छ । त्यस्तै, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषबीच गर्ने काममा दोहोरोपना देखिएको पनि उहाँले बताउनु भयो । पछिल्लो समय गरिएको नीतिगत व्यवस्थाका कारण सामाजिक सुरक्षा कोष आक्रामक रूपमा अघि बढिरहेको भन्दै कार्कीले नागरिक लगानी कोषमा सहभागी संघ–संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, अन्यथा कारबाही हुने उल्लेखसहित पत्राचार भएको भन्दै आपति जनाउनु भयो ।
कार्यकारी निर्देशक कार्कीका अनुसार नागरिक लगानी कोषमा सहभागी भएका संस्थाहरूलाई फेरि फर्काउने चुनौती थपिएको छ । कार्कीकाअनुसार अब नीतिगत स्पष्टता र कार्यान्वयनमा स्पष्टता आवश्यक रहेको छ ।