पश्चिम एसिया द्वन्द्वले नेपालको पर्यटन, रोजगारीदेखि वैदेशिक व्यापारसम्मै असर पर्ने जोखिम

इन्धनको मूल्य बढ्दा महंगी बढ्ने चिन्ता
अर्थतन्त्र मजबूत बनाउन विज्ञको सुझाव
फाल्गुन १८, २०८२ |सुमन पन्थ
पश्चिम एसिया द्वन्द्वले नेपालको पर्यटन, रोजगारीदेखि वैदेशिक व्यापारसम्मै असर पर्ने जोखिम

काठमाडौं । इरान, अमेरिका र इजरायलबीच युद्ध लम्बिए नेपालको समग्र अर्थतन्त्रमै प्रभाव पर्ने देखिएको छ । 

द्वन्द्व जारी रहे नेपालको पर्यटन, रोजगारी, वैदेशिक व्यापारदेखि उड्डयन क्षेत्रसम्मै प्रत्यक्ष गम्भीर असर पर्नेछ । विज्ञहरूले घरेलु अर्थतन्त्रलाई मजबुत बनाउने विकल्प अपनाउन जोड दिएका छन् ।

इरानमाथि इजरायल र अमेरिकाको आक्रमण भएकै दिनदेखि नेपालबाट पश्चिम एसियाका मुलुकहरूमा हुने उडान ठप्पजस्तै छ । अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले अर्को सूचना जारी नहुँदासम्म उडान स्थगन गरेका छन् । यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा देखिन थालिसकेको छ । 

विशेषगरी, होटल तथा सेवा क्षेत्रमा प्रत्यक्ष प्रभाव देखिएको छ । युद्ध लम्बिँदाको अर्को ठूलो प्रभाव वैदेशिक रोजगारीमा पर्नेछ । सरकारले आइतबारदेखि वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृतिमा रोक लगाइसकेको छ, जसले मासिक ३० हजारका दरले रोजगारी संकुचन हुँदैछन् । 

सन् २०३४ मा फिफा विश्वकप आयोजना गर्न लागेको साउदी अरेवियाले नेपालबाट ठूलोमात्रामा श्रमिक लिँदै थियो । त्यससहित कतार, संयुक्त अरब इमिरेट्स, कुवेतलगायत मुलुकबाट आउने मागपत्र रोकिँदा श्रम बजारमै गम्भीर असर पुग्ने रोजगार व्यवसायीको भनाइ छ ।

रोजगारीमा जस्तै असर पर्ने प्रमुख क्षेत्रको वैदेशिक व्यापार । नेपालबाट निर्यात हुने वस्तु हवाईमार्गबाट हुने हुँदा निरन्तर उडान रोकिँदा निर्यात घट्ने र लागत बढ्ने छ । त्यतिमात्र नभइ द्वन्द्व लम्बिए दक्षिण एसियाली देशमा इन्धनको मूल्य बढ्ने छ । विश्वमा इन्धन आपूर्ति गर्ने हर्मुज मार्ग अवरुद्ध भए इन्धनको मूल्य बढेर वस्तुको लागत बढ्ने छ । 

नेपालमा बस्तु आयात हुने सामुन्द्रिक मार्गका हुने अवरोधले सामानको मूल्यसमेत बढ्ने छ । वैदेशिक रोजगारीको यो अवरोघ लम्बिए रेमिट्यान्स आप्रवाहसमेत पनि खुम्चिने निश्चित छ । मासिक २ खर्बसम्मको रेमिट्यान्स आप्रवाह कम हुँदा हाम्रा अर्थतन्त्रका बाह्यसूचक अहिले जस्तो सबल हुने छैन । त्यसैले घरेलु अर्थतन्त्रलाई मजबुत बनाउने विकल्पमा जोड दिन विज्ञहरूले सुझाव दिएका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।