बजेट रोक्कापछि कोशीका पहाडी जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम अनिश्चित

फाल्गुन १६, २०८२ |विनोद घिमिरे
बजेट रोक्कापछि कोशीका पहाडी जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम अनिश्चित

धनकुटा । संघीय सरकारको सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेट रोक्का गरेपछि कोशीका पहाडी जिल्लामा विभिन्न भौतिक पूर्वाधार निर्माणको काम अनिश्चित बनेको छ ।

अर्थ मन्त्रालयलले स्वीकृत बजेट रोक्का गरेपछि धनकुटा, भोजपुर र संखुवासभामा सञ्चालन हुने भनिएका विभिन्न ११ वटा आयोजना अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत धनकुटाका महालक्ष्मी नगरपालिकाको तोलाबारी-हिलेखर्क सडक, जिमिगाउँ, पिप्ले बडहरे खोला सडकको काम प्रभावित भएको छ । 

यस्तै छथर जोरपाटी गाउँपालिकाको जोरपाटी-चुलाचुली-लामिछानेडाँडा सडक स्तरोन्नतिको काम पनि बजेट अभावका कारण अघि बढ्न सकेको छैन् । यस्तै संखुवासभाका लागि स्वीकृत पाँचखपन नगरपालिकामा करिब ४ करोड रूपैयाँ लागत अनुमानको सघन सहरी विकास कार्यक्रमअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम छ । 

चैनपुर कटहरे दोभाने हुँँदै बाह्रबिसेसम्म स्तरोन्नतिका लागि कार्यक्रम स्वीकृत भए पनि बजेट रोक्का भएको छ । यस्तै भोजपुरमा अरूण गाउँपालिका २ मा महिला भवन, साल्पा सिलिचो गाउँपालिकामा गोविन्दचौर, कुलुङ सडक स्तरोन्नति, सिद्धेश्वर–गुप्तेश्वर–दावा बजार बस्ती विकास कार्यक्रमअन्तर्गत पूर्वाधार स्तरोन्नति योजना रोकिएका हुन् । 

दियाहाङ-बखटाङ-सुमदिपा-पारूहाङ तथा भीमसेन स्थान पुनःनिर्माण, अन्नपूर्ण माध्यमिक विद्यालयको पूर्वाधार निर्माण कार्यक्रम पनि प्रभावित बनेका छन् । यसैबीच सहरी विकास मन्त्री कुमार इङनामले चालु आर्थिक वर्षमा यी आयोजनाको बजेट फुकुवा भएर काम हुने सम्भावना नभएको प्रष्ट पार्नु भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले बजेट स्वीकृत भएका केही आयोजनाको ठेक्का पनि आह्वान गरिसकेको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।