सरकारी कार्यालयको संरचना फेरिँदा धनकुटामा ११ वटा भवन निर्माणको काम अलपत्र

बजेट नै कटौती
फाल्गुन १०, २०८२ |विनोद घिमिरे
सरकारी कार्यालयको संरचना फेरिँदा धनकुटामा ११ वटा भवन निर्माणको काम अलपत्र

धनकुटा । धनकुटामा ठेक्का लागेर निर्माण सुरू गरिएका भवनको काम पूरा नहुँदै कार्यान्वयन गराउने कार्यालयको संरचना फेरिँदा ११ वटा सरकारी भवनको काम अलपत्र छ । 

ठेक्का लगाउने कार्यालय गएको साउन महिनाबाट अर्कोमा गाभियो । पुरानो कार्यालयले काम पूरा गराउन पाएन भने नयाँले अधुरा काम अघि बढाउन बजेट तथा कार्यक्रम नै राखेन । जसले गर्दा निर्माणाधीन भवनको काम अलपत्र बनेको हो ।

धनकुटाको सिप्तिङको कृषि भवनजस्तै कोशी प्रदेशको तत्कालीन सहरी विकास तथा भवन कार्यालयले धनकुटाको हिलेमा बहुउद्देशीय, सिरवानीमा मदन आश्रति स्मृति प्रतिष्ठान पुस्तकालय र बेलहराको सामुदायिक भवन निर्माण सुरू गरेको थियो । चौविसेमा एउटा सामुदायिक र शिखरपुर साँस्कृतिक भवन, छथरजोरपाटीको काजिमाने सामुदायिक भवन, महालक्ष्मीमा चामु शन्दलिया सेवा समाज भवन, शहीदभूमिमा कागुने सामुदायिक भवन र पाख्रिबास सामुदायिक भवनसमेत गरी ११ वटा भवन निर्माणाधीन थिए । 

यीमध्ये कुनै भवनको सिल लेभल, कुनैको डीपीसी ढलान, कुनैमा आधा र कुनैको आरसीसी स्ट्रक्चरको ९० प्रतिशत काम पूरा भएको छ । कुनैमा भने पहुँचमार्ग, रंगरोगन, शौचालय, इलेक्ट्रिक र सेनेटरीलगायतको काम बाँकि छ । भवन निर्माणको काम पूरा नहुँदै ठेक्का लगाएर कार्यान्वयन गर्ने सहरी विकास तथा भवन कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभियो । तर पुरानो कार्यालयले थालेका कामको स्वामित्व लिएर निर्माण पूरा गर्न पूर्वाधार विकास कार्यालयले योजना र बजेट छुट्याएन । 

जस्ले गर्दा निर्माणाधीन यी भवनको काम अन्योलमा परेको छ । विगतमा ठेक्का लागेका, निर्माणको चरण पूरा नभएका र चालु आर्थिक वर्षमा कामका लागि बजेट र कार्यक्रम नपरेका ११ वटा भवन छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा समेत ति योजना समावेश नुहँदा निर्माण कार्य अलपत्र बनेको छ ।

कार्यालय संरचना परिवर्तन भएका कारण यी भवनमा यस अघि भएको लगानीको यकिन विवरण उपलब्ध छैन् । तर अब यी ११ वटा भवनको बाँकि काम पूरा गर्न करिब २५ करोड रूपैयाँ आवश्यक पर्छ । अधुरा भवन निर्माणको काम सम्पन्न गर्न मन्त्रालयसँग थप बजेट र कार्यक्रम माग गरिएको पूर्वाधार विकास कार्यलय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेल बताउनु हुन्छ ।

धनकुटाका यी अलपत्र ११ भवनले कार्यालय गाभिने प्रक्रियामा नीतिगत अदुरदर्शीता, प्रशासनिक लापरबाही र योजना व्यवस्थापनको कमजोरीलाई दर्साएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।