अन्तर्राष्ट्रिय बजारको प्रभाव : पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय बजारको प्रभाव : पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुल्ला बिक्री मूल्य बढाएको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य साेमबारदेखि लागू हुने गरी समायोजन गरेको छ ।

मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको निगमले जनाएको छ । यद्यपि कर्पोरेसनले पठाएको दर कायम नगरी बिक्री गर्दा केहि रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी मूल्य तोकिएको छ । 

अब पेट्रोल प्रतिलिटर १ सय ७२ रूपैयाँ र डिजेल प्रतिलिटर १ सय ५२ रूपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य लिटरमा १ सय ५७ र डिजेलको १ सय ४२ रूपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने रणनीति लिनेसमेत निगमले जनाएको छ ।

निगमलाई प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा ३१ रूपैयाँ, डिजेलमा ५४ रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय १६ रूपैयाँ घाटा छ । घाटा रकम चुलिएपछि निगमको सञ्चालक समिति बैठकले मूल्य समायोजना गर्ने निर्णय गरेको हो । मूल्य समायोजन पछि पनि निगमलाई आउँदो १५ दिनमा ३ अर्ब ९३ करोड घाटा हुने जनाइएको छ ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.