
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा बाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गर्नुभयो ।
नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्यासको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरूको हित संरक्षणका लागि विद्यमान कानुननै पुनर्लेखन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कानुन कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न पनि सोसम्बन्धी कानुनको पुनर्लेखन आवश्यक रहेको तर्क गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सरकारी निकायहरूबीचको समन्वयको अभावमा व्यवसायीहरूको आफ्नो उत्पादन प्रवर्द्धनमा समेत समस्या झेल्नुपर्ने अवस्था अझै पनि रहेको बताउनु भयो ।