
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।
सोमबार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरू गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको बताउनु भयो ।
उहाँले परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । उहाँले सेवाग्राहीको भिडभाड हुने अन्य सरकारी कार्यालयहरूमा समेत उक्त प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उहाँको भनाइ छ । उक्त प्रणालीको सोमवार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गर्नुभएको छ ।