लघु उद्यममार्फत रोजगारी सिर्जना गर्न पुनर्वासमा अभिमुखीकरण

चैत्र २, २०८२ |हरिश्चन्द्र बाग
लघु उद्यममार्फत रोजगारी सिर्जना गर्न पुनर्वासमा अभिमुखीकरण

कञ्चनपुर । “आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत रोजगार” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत पुनर्वास नगरपालिकामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । 

आर्थिक वर्ष २०८२/०८३ का लागि उद्यमशीलता तथा मेड मोडेलसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पुनर्वास नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रम पुनर्वास नगरपालिका अन्तर्गतको उद्यम तथा रोजगार शाखाले आयोजना गरेको हो ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाशक्ति तथा विपन्न वर्गलाई उद्यमशीलतामा जोड्न सकेमा गरिबी न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्र मजबुत बन्ने बताउनुभयो । 

“सरकारले ल्याएको मेडपा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर बेरोजगार युवालाई सीप र रोजगारीसँग जोड्न नगरपालिकाले प्राथमिकता दिएको छ,” नगर प्रमुख शर्माले भन्नुभयो । नगरपालिकाले वार्षिक करिब २ सय ५० जनालाई उद्यमशीलतासम्बन्धी तालिम प्रदान गर्दै आइरहेको उहाँको भनाइ छ ।

उद्यम तथा रोजगार शाखाका प्रमुख कृष्ण भट्टले मेडपा कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा उद्यमी छनोटका मापदण्डबारे जानकारी दिनुभयो । उहाँले स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले सीप, पुँजी र बजारसँग जोड्दै वास्तविक उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो । “लघु उद्यमलाई प्रवर्द्धन गरेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो,” भट्टले भन्नुभयो ।

कार्यक्रमका प्रशिक्षक तथा उद्यम विकास विशेषज्ञ भीम बहादुर विष्टले उद्यमशीलताको अवधारणा, मेड मोडेल तथा व्यवसाय सुरू गर्दा अपनाउनुपर्ने प्रक्रियासम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले उद्यम सञ्चालन गर्दा बजार अध्ययन, सीप विकास, व्यवस्थापन क्षमता र निरन्तरता अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । “साना उद्यमलाई व्यवस्थित रूपमा अघि बढाउन सके ठूलो आर्थिक परिवर्तन सम्भव हुन्छ,” विष्टले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सम्भावित उद्यमीहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणमार्फत मेडपा कार्यक्रमका बारेमा स्पष्ट जानकारी प्राप्त भएको सहभागीहरूको प्रतिक्रिया छ । नगरपालिकाले आगामी दिनमा मेडपा कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम, उद्यम स्थापना तथा रोजगारी सिर्जनाका गतिविधि सञ्चालन गर्ने जनाएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।