
काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विदेशबाट नेपालमा सामान ल्याउने कन्टेनरको भाडा वृद्धि भएसँगै वस्तुको मूल्यसमेत बढेको छ ।
अहिले आयात र निर्यात दुवै १० प्रतिशत महँगो भएको निजी क्षेत्रका छाता संगठनहरूले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालका अनुसार अहिले यूएई, साउदी अरेबिया तथा कतारबाट आउने वस्तुको मूल्य बढेको छ । यसअघि यी मुलुकबाट प्रतिकन्टेनर २५ सय अमेरिकी डलरमा ढुवानी हुने गरेकामा अहिले नेपाल आइपुग्न ४ हजार डलर लाग्ने गरेको छ ।
विशेषगरी प्लास्टिक, तामा विद्युतीय सामग्री तथा महँगा धातुको ढुवानी भाडा ह्वात्तै बढेको हो । प्लास्टिकको मूल्य त एक मेट्रिक टनमै २ सय ७५ रूपैयाँले बढेको छ । यसबाहेक युद्धका कारण विश्वबजारमा तेलको आपूर्तिमा असहज हुँदा तेलको भण्डार कम भएका मुलुकहरूले नेपालमा निर्यात गर्दा वस्तुको भाउ बढाएर पठाएको व्यवसायीको भनाइ छ ।
ढुवानी खर्च बढेकै कारण भारत भित्रने कच्चा पदार्थको समेत मूल्य बढेकाले आगामी दिनमा भारतबाट आउने वस्तुको समेत मूल्य बढ्ने देखिएको व्यापारी बताउँछन् । पानीजहाजमार्फत नेपाल आउने चिनियाँ वस्तुको मूल्य त बढी नै सकेको व्यापारीको भनाइ छ ।
यसका अलावा नेपाली व्यापारीहरूले भारतीय बन्दरगाहमा ल्याइपुर्याएका कन्टेनरलाई भारतीय सरकारी रेल्वे कम्पनीले र्याक उपलब्ध नगराउँदा ३२ सय कन्टेनर उतै अड्किएका छन् । यसले समेत व्यापार लागत बढाएको व्यापारीहरू बताउँछन् ।