ब्रोकरले नै सेयर लगानीकर्तालाई ऋण दिनसक्ने गरी नयाँ निर्देशिका जारी

बैंकसँगै आफ्नै ग्राहकबाट पनि ऋण लिन सक्ने व्यवस्था खुला
फाल्गुन ५, २०८२ |सुदिल पोखरेल
ब्रोकरले नै सेयर लगानीकर्तालाई ऋण दिनसक्ने गरी नयाँ निर्देशिका जारी

काठमाडौं । धितोपत्र बोर्डले फागुन १ गतेदेखि ब्रोकरले नै सेयर लगानीकर्तालाई ऋण दिनसक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ । 

२०७४ सालमा धितोपत्र बोर्डले मार्जिन कारोबारसम्बन्धी निर्देशन २०७४ जारी गरेर ब्रोकरले ऋण दिन सक्ने व्यवस्था खोलेपनि त्यो कार्यान्वयनमा जान सकेन । यसपछि २०७७ मा पुन: यसमा संशोधन गरियो । र, केही ब्रोकरले यस्तो कारोबार गर्न अनुमति लिए पनि अहिलेसम्म कार्यान्वयनमा जान सकेको छैन । 

विशेषगरी स्रोत जुटाउन देखिएको कानुनी अड्चन र ऋण लगानी गर्न पाउने यसअघिको सीमामा हेरफेर गरेकाले अब भने कार्यान्वयनमा जाने बोर्डको दाबी छ । यसअघि २०७४ सालमा जारी भएको निर्देशनमा ब्रोकरले वाणिज्य बैंकबाट मात्रै ऋण लिन सक्ने व्यवस्था रहेकामा अहिले यसलाई खुकुलो बनाएर बैंक तथा वित्त संस्थासँगै आफ्ना सेयरधनीबाट समेत ऋण लिन सक्ने बाटो खुला गरिएको छ । 

त्यस्तै, एकाघरका परिवारमा नेटवर्थको १० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई हटाइएको छ । साथै यसअघि कुनै पनि कम्पनीको सेयरको चार महिनाको औसत मूल्य निकालेर मात्रै त्यसमा ऋण दिन सक्ने व्यवस्था रहेकामा अब क्लोजिङ प्राइसलाई आधार मानेर ऋण दिन सक्ने व्यवस्था गरिएको छ । 

जसले बढेका कम्पनीमा लगानी गर्न चाहने लगानीकर्ताले यसअघि भन्दा बढी ऋण पाउने छन् । यस्तो नयाँ व्यवस्था कार्यान्वयनमा जानसके सेयर लगानीकर्तालाई ऋण खोज्न बैंक जानुपर्ने छैन । तर, ८ वर्षपछि आएको नयाँ कानुनी व्यवस्था पनि अपुरो रहेको ब्रोकरको भनाइ छ ।

नयाँ कानुनी व्यवस्थाअनुसार २० करोडभन्दा माथिको चुक्ता पुँजी भएकाले मार्जिन कारोबारको सुविधा प्रदान गर्न सक्नेछन् । यसअनुसार तत्कालै ७७ वटा ब्रोकर कम्पनीले यस्तो सुविधा सुरूवात गर्न सक्छन् । तर यसका लागि नेप्सेले आफ्नो सफ्टवेयरमा यस्तो मार्जिन सुविधा किकलने ग्राहकको थप अर्काे आईडी खोल्न पाउने सुविधा थप गर्नुपर्नेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।