काठमाडौं । चुनाव नजिकिँदै गर्दा सेयरबजार भने सकारात्मक प्रभाव पर्न सकेको छैन ।
छोटो समयका लागि किन्ने र बेच्नेहरूले कारोबार गरे पनि ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा सेयरबजार बढ्नुको साटो घटेको छ । लगानीकर्ताहरूमा आगामी सरकार कस्तो बन्छ र त्यसले लिने आर्थिक नीति कस्तो हुन्छ भन्ने अन्योल रहेको देखिन्छ, जसले बजारलाई नै घटाएको छ ।
सेयरबजार परिसूचक-नेप्से सोमबार ८ दशमलव एक-छ अंकले घटेर २६ सय ६२ कायम भएको छ भने ७ अर्ब ९४ करोडको मात्रै कारोबार भएको छ । चुनाव नजिकिँदै गर्दा लगानीकर्तामा विगतमा जस्तो उत्साह छैन । यसअघि चुनावले बैंकमा तरलता थप्ने र सेयरबजारमा लगानी बढाउने गरेको हुन्थ्यो । तर, यसपालि बजारमा अधिक तरलता र न्यून ब्याजदर भएकाले बजारमा आउने पैसाले लगानीकर्तामा उत्साह थप्न सकेको छैन ।
बरू लगानीकर्ता अब आउने सरकारले कस्तो नीति लिन्छ भन्ने पर्खाइमा रहेकाले कारोबारसमेत बढ्न नसकेको ब्रोकरहरू बताउँछन् । २०७९ को चुनावमा १८ सय ५१ हाराहारीमा रहेको नेप्से २१ सय ८३ अंकसम्म पुगेको थियो । २०७९ मा बजार न्यून बिन्दुमा आएका बेलामा समेत उत्साह देखिएको थियो । तर, अहिले १५ दिनअघि २६ सय ९४ अंकमा रहेको नेप्से सोमबारसम्म ३२ अंकले घटेको छ ।
१५ दिनमा ११ दिन कारोबार भएकोमा ८ दिन त बजार घटेको छ । न्यून ब्याजदरमा समेत सेयरबजार माथि जान नसक्नुले अर्थतन्त्र ठिक अवस्थामा नरहेको देखाएको छ । लामो समयका लागि लगानी गर्नेहरूले चलायमान अर्थतन्त्र र त्यसले बढाउने कम्पनीहरूको नाफा हेरिरहेका छन् । जसका लागि स्थिर सरकारको आवश्यकता रहेको लगानीकर्ताको बुझाइ छ ।