जुम्ला । झन्डै दशक अघिसम्म सल्लाको दियालो बालेर रात काटिरहेका तातोपानी-४ गिडिखोलाका बस्तीहरू पछिल्लो समयमा बिजुलीले चम्किएका छन् ।
गाउँ नजिकै गिडिखोला जलविद्युत् आयोजना निर्माण भएर बिजुली प्रवाह हुन थालेपछि अहिले वर्षौंदेखिको अन्धकार हटेको अनुभुति स्थानीयको छ । जुम्लास्थित तातोपानी-४ गिडिखोला क्षेत्रमा बनेको जगिडिखोला जलविद्युत् आयोजनाको विद्युत गृहबाट २ सय किलोवाट क्षमताको विद्युत निस्किएको छ ।
जसले गाउँहरू झिलिमिली बनेका छन् । गाउँमै विद्युतबाट चल्ने मेसिनहरू स्थापना भएका छन् । पहिले अन्धकार झेलिरहेका स्थानीय अहिले उज्यालोमा बस्न पाइरहेकोमा औधी खुसी छन् । विद्युतीय चुलाहरूदेखि अन्य सामग्रीहरू प्रयोगमा आएका छन् । घरघरमा वाइफाइ जोडिएका छन् ।
बालबालिका अनलाइन शिक्षा गाउँबाटै पाइरहेका छन् । स्थानीयको स्वास्थ्यमा समेत प्रत्यक्ष फाइदा पुगेको छ । एकताका जंगलदेखि झरो दाउरा संकलन गर्ने चलन थियो । धुवा धुलोले रोगको संक्रमण पनि त्यत्ति हुने गरेको थियो । घरायसी काममा निकै बाधा पुग्ने गरेको थियो ।
रूघाखोकी, कालोधुँवा पस्ने, अनुहार कालो हुने समस्या थियो । अहिले टाढा गएको आफन्तसँग नेट इन्टरनेटको प्रयोग गरेर प्रत्यक्ष भेटघाट हुन्छ । अहिले २४सैं घन्टा बत्ति बलिरहेको छ । गरिब-धनीबीचको खाडल समेत छैन । हुनेखानेले सोलार बालिरहेका थिए । नहुने झरो बालिरहेका थिए ।
अहिले गरिब विपन्न घरमा त नि:शुल्क विद्युत् लाइन समेत जोडिएको छ । अहिले घरभित्रैबाट सामाजिक प्लेटर्फमहरूको प्रयोग भइरहेको छ । घरभित्रका कामहरू समेत सहज छ । घर सजाउनेदेखि सरसफाइका काममा टेवा पुगेको छ । यो बिजुली जाल्पादेवी ग्रामिण विद्युत सहकारी संस्थाद्वारा सञ्चालनमा छ ।
२०६१ सालदेखि विद्युत् निर्माणको काम सुरू भए पनि २०७४ सालदेखि बिजुली उत्पादन भएर गाउँबस्तीमा पुर्याइएको थियो । कुल १६ करोड लागत स्टेटमेन्ट रहेको यो बिजुली १२ करोडमा टेन्डर आह्वान भएकोमा घटिघटाउमा १० करोडमा ठेकेदारले निर्माणको जिम्मा लिएका थिए ।
एक करोड ५० लाख समुदायको नगद लगानी छ । १ करोड ६३ लाख ४० हजार ऋण छ । वैकल्पिक उर्जाको माध्यमबाट एडीबीले ५ करोड ७० लाख अनुदान दिने भनिए पनि ४० करोड मात्रै आएको थियो । अहिले आफ्नो गाउँबस्तीमा प्रयोग गरेर पनि छिमेकी बस्ती झलमल्ल छन् ।
अहिले तातोपानीका १५ गाउँमा सिधैं विद्युत सहकारीले बिजुली दिइरहेको छ । थप १५ गाउँमा विद्युत प्राधिकरणले यहि विद्युत गृहसँग सम्झौता गरेर बिजुली बालिरहेको छ । अहिले चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका अधिकांश बस्तीहरू यही बिजुलीले उज्यालिएका छन् ।
न्यूनतम महसुल एक सय रूपैयाँ तोकिएको छ । हिउँदमा मासिक २ लाख २० हजार रूपैयाँसम्म आम्दानी भइरहेकोमा वर्षमा एक लाख २५ हजार रूपैयाँसम्म आम्दानी भइरहेको छ । कुल ३ किलोमिटर ७ सय मिटर टाढादेखि कुलो बनाएर बिजुली निकालिएको छ ।