
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ ।
ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायतका संरचना (हेडवर्क्स), प्याकेज दुईअन्तर्गत मुख्य सुरूङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज तीनअन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
प्याकेज एकअन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ४७ प्रतिशत प्रगति भएको भण्डारीले बताउनुभयो । प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ ।
यस अवधिसम्म भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो । प्याकेज तीन प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरहरूको जग हाल्ने काम सम्पन्न गरेको छ ।