
काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दलहरू घोषणापत्र लेखनमा व्यस्त छन् । उनीहरूले घोषणा पत्र लेखनलाई अन्तिम चरणमा पुर्याइरहँदा निजी क्षेत्रले समेत चासो देखाइरहेको छ ।
मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने उर्जा, पर्यटन, निर्माण क्षेत्रका अगुवाले दलहरूको घोषणापत्र व्यवहारिक, कार्यान्वयनमुखी हुनुपर्ने निजी क्षेत्रको माग छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले राजनीतिक दलहरूले देशलाई समृद्ध बनाउने भनेर घोषणापत्रमा एजेन्डा ल्याए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
राजनीतिक दलले घोषणापत्रमा उर्जालाई प्राथमिकता दिएको देखिए पनि काम गर्दा भने प्राथमिकतामा नराख्ने गरेको उहाँको आरोप छ । नेपाल होटल एशोसिएन (हान) का अध्यक्ष विनायक शाहले वार्षिक रूपमा १२ लाख भन्दा बढी पर्यटक नेपालमा आउन नसकिरहेको बताउँदै अब आउने नेतृत्वले ५० लाख पर्यटक नेपालमा भित्राउने किसिमले घोषणापत्र तयार गर्नुपर्ने बताउनु भयो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले छाता ऐन चाहिरहेको बताउनु भयो । निर्माण क्षेत्रमा चाइनिज, जापानिज, भारतीय निर्माण कम्पनीहरूले भनेको समयमा काम गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।