
काठमाडौं । राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन दबाब दिने उद्देश्यले धादिङमा हस्ताक्षर अभियान सुरू गरिएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा जारी धादिङ महोत्सवमा छुट्टै स्टल राखेर आयोजनाको काम अघि बढाउन दबाब दिन हस्ताक्षर अभियान थालिएको हो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेर अभियानको सुरुवात गर्दै सरकारलाई तत्काल आयोजना निर्माणको काम अघि बढाउन आग्रह गर्नुभयो ।
ढिलासुस्तीका कारण हालसम्म आयोजनाको भौतिक प्रगति १० प्रतिशतभन्दा कम छ । गोरखामा ३४ अर्ब ३० करोड र धादिङमा ६ अर्ब ७० करोड मुआब्जा वितरण भइसकेको आयोजनामा हालसम्म करीब ४३ अर्ब खर्च भइसकेको छ। हस्ताक्षर अभियान महोत्सव अवधिभर माघ २५ गतेसम्म चल्ने छ ।
संकलित हस्ताक्षर नेपाल सरकारलाई हस्तान्तरण गरिने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।