कर्णाली प्रदेश सरकार : बजेट कार्यान्वयन र राजश्व वृद्धिमा फेरि असफल

माघ १५, २०८२ |कमल पन्त
कर्णाली प्रदेश सरकार : बजेट कार्यान्वयन र राजश्व वृद्धिमा फेरि असफल

सुर्खेत । कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयन र राजश्व वृद्धिमा फेरि असफल हुने देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको प्रगति मूल्याङ्कन गर्दा प्रदेश सरकार अघिल्ला वर्षहरूजस्तै बजेट कार्यान्वयन र राजश्व संकलनमा असफल हुने देखिएको हो ।

पूर्वाधार विकास कर्णाली प्रदेश पुछारमा छ । गाउँबस्तीसम्म गतिलो सडक र विद्युत सेवा छैन । तर कर्णाली प्रदेश सरकार भने विकास बजेट कार्यान्वयनमा सधैँ असफल हुँदैआएको छ । अघिल्ला वर्षहरूजस्तै चालु आर्थिक वर्षमा पनि विकास बजेट कार्यान्वयनमा सरकार असफल हुने देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कर्णाली सरकारले जम्मा ८ प्रतिशत अर्थात १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ मात्रै पूँजिगत बजेट खर्च गरेको छ । 

जसमध्ये पनि १० अर्ब ७३ करोड पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले नै हालसम्म जम्मा साढे १० प्रतिशत अर्थात १ अर्ब ८६ करोड मात्रै खर्च गरेको छ । अघिल्लो वर्षभन्दा एक प्रतिशत कम बजेट खर्च गरेको प्रदेश सरकार भने जेनजी आन्दोलन कारण विकास बजेट खर्च कम भएको बाहना सुनाउँछ ।

६ महिनाकोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ४, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ६ र सामाजिक विकास मन्त्रालयले ७ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८, मुख्यमन्त्री कार्यालयमा गाभिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ११ र आर्थिक मामिला तथा योजना मन्त्रालयले ५० प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रमुख प्रतिपक्षी दलले सरकारले बजेट खर्च गर्न क्षमता नै नराखेको कारण विकास बजेट खर्च हुन नसकेको आरोप लगाउँछ ।

प्रदेश सरकारको राजश्व संकलनको अवस्था पनि दयनीय छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष ६ महिनामा जम्मा ३० करोड ७५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । निजी क्षेत्रले भने प्रदेशको कमजोर पूर्वाधार विकास, पर्यटन, जडिबुटी जलस्रोत र कृषिमा नीतिगत सुधारको अभाव र कमजोर लगानीका कारण राजश्व लक्ष्य बढ्न नसेकेको बताउँछ।

चालु आर्थिक वर्ष २०८२÷८३ का लागि ३२ अर्ब ९९ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले शत प्रतिशत बजेट कार्यान्वयन गर्ने र ९६ करोड ७४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । तर ६ महिनाको प्रगतिले बजेट कार्यान्वयन र राजश्व संकलनको लक्ष्य हेर्दा विश्वास गर्ने ठाउँ छैन ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।