स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : संयोजक दाहाल

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफूहरूको पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौमा आयोजित रूकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रत्यक्षतर्फ आफूहरू पहिलो पार्टी बन्ने दाबी गनुभएको हो । स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरु पहिलो हुने उहाँको दाबी छ । 

उहाँले समानुपातिकतर्फ भने नयाँ भनिनेहरूको हावा चलेकोले केही कमजोर हुने बताउनु भयो । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उहाँले बताउनु भयो । यद्यपि निर्वाचन भाँड्न केही तत्वहरू अझै सक्रिय रहेको उहाँको भनाइ छ । 

संयोजक दाहालले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताउनु भयो । उहाँले देश निर्वाचनमय भइसकेकोले संसद् पुनःस्थापना हुने सम्भावना अब नरहेको दाबी गर्नुभयो । अब हुने एउटै विकल्प निर्वाचन मात्रै भएको उहाँको भनाइ छ । उहाँले निर्वाचनप्रति प्रश्न उठाउने दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेको बताउनु भयो । 

सुरक्षा संयन्त्र, कर्मचारी र सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढंगले प्रभावित पार्ने प्रयास गरिरहेकोले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उहाँले बताउनु भयो । संयोजक दाहालले रुकुम पूर्वको लागि चुनावी प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभएको छ । 

उहाँले भारतको सीमाना कोइलावासदेखि चीनको सीमा तिब्बतसम्म जोड्ने मार्ग, चुनवाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, रुकुमको फलाम खानी उत्खनन, सबै वडामा वर्षभर सवारी चल्ने गरी सडक स्तरोन्नति, जडिबुटी प्रशोधन केन्द्र स्थापना तथा खाम मगर क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.