
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कफी उत्पादन र उपभोग दुवै बढ्दै गएपछि कफी रोस्टिङ र बारिस्ता तालिममा युवाहरूको आकर्षण बढेको छ । स्थानीयस्तरमै उत्पादन भएको कफीको खपत बढ्न थालेपछि युवाहरू सीपमूलक तालिममा सहभागी हुन थालेका हुन्।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराकी सम्झना प्रधान लामो समयदेखि चिया व्यवसाय गर्दै आउनुभएको छ ।
चिसो मौसममा चिया पिउनेको भीड भए पनि पछिल्लो समय कफी खोज्ने ग्राहक पनि बढ्न थालेपछि उनले बारिस्ता तालिम लिइन्। चियामात्रैमा सीमित रहेको उहाँको यसअघिको व्यवसायमा अहिले कफीसमेत जोडिएपछि आम्दानी बढ्ने भएको छ ।
काठमाडौंमा कफी व्यवसाय सञ्चालन गर्दै आएका लिसंखुका सोनाम लामा अहिले कफी रोस्टिङमा व्यस्त छन्। ग्राहकको रोजाइ फरक–फरक हुने भएकाले स्वादअनुसार कफी तयार पार्ने सीप उनको लागि आवश्यक थियो।
यसअघि स्वाद स्थिर राख्न नसक्दा र गुणस्तरमा समस्या आउँदा व्यवसाय विस्तारमा चुनौती थियो। अहिले तालिमपछि उनी आफैं कफी बिन्स रोस्ट गरेर हल्का, मध्यम र गाढा स्वादका कफी तयार गर्न सक्ने भएका छन्।
सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, अष्ट्रेलिया, कोरियालगायतका देशमा वार्षिक करिब १० टन निर्यात हुँदै आएको छ भने करिब ८ टन कफी स्वदेशमै खपत हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि कफी उत्पादनसँगै प्रशोधन र सेवामूलक सीपको महत्व पनि बढेको छ ।
सिन्धुपाल्चोकको कफी देश–विदेशमा चिनिँदै जाँदा त्यससँग जोडिएको सीप युवाहरुको भविष्य निर्माणको आधार बन्दै गएको छ ।
यसरी स्थानीयस्तरमा उपलब्ध तालिमले साना व्यवसायीलाई आत्मनिर्भर बनाउने स्थानीय व्यावसायिक वातावरणमा पनि नयाँ उत्साह थपेको छ।