आखिर कहाँ जान्छ ग्यास ?

मासिक ४५ हजार टन ग्यास भित्रिदैँ
माघ २९, २०८२ |सुमन पन्थ
आखिर कहाँ जान्छ ग्यास ?

काठमाडौै । बजारमा देखिएको खाना पकाउने ग्यासको सहज आफूर्ति गर्न सरकार असफल जस्तै भएको छ । नाकाबन्दीका बेलामा जस्तै उपभोक्ता ग्यास खोज्न भौतारिरहेका बेला नेपाल आयल निगम भने वितरण प्रणालीमा समस्या भन्दै उपभोक्तालाई त्रसित बनाइरहेको छ । उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चिति गर्दा क्षणिक अभाव देखिएको निगमको तर्क छ । मासिक ४५ हजार टन ग्यास भित्रिएको बताउने निगमसँगै त्यो ग्यास कहाँ छ ? भन्ने भरपर्दो जवाफ छैन ।

करिब दुई हप्तादेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएको छ । भारतले २०७२ असोजमा लगाएको नाकाबन्दीपछि उत्पन्न अवस्थाको झल्को दिने गरी अहिले ग्यास जोहो गर्न बिक्रेता र डिपोमा उपभोक्ताको भीड लागेको छ । पर्याप्त मात्रामा आपूर्ति नभएको अवस्थामा उपभोक्ता ग्यास सञ्चितिमा लागेको स्थानीय बिक्रेताको भनाइ छ । 

काठमाडौं उपत्यका र बागमती प्रदेशमा २३ वटा उद्योगले खाना पकाउने ग्यास आपूर्ति गरिरहेका छन् । नेपाल ग्यास, एभेष्ट ग्यास, सगरमाथा ग्यास जस्ता उद्योगले बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आयल निगमले बताएको छ ।

यता निगमले भने मासिक ४५ हजार टन ग्यास आपूर्ति भइरहेको बताएको छ । गत मंसिरमा ४५ हजार मेट्रिक टन, पुसमा ४७ हजार र माघमा ४४ हजार टन ग्यास आएको उसको दावी छ । मागको अनुपातमा ग्यास आपूर्ति भइरहेपनि त्यो ग्यास कहाँ छ त ?

यसबारेमा नेपाल आयल निगमका प्रवक्ता  मनोजकुमार ठाकुर भन्छन्,  “ ग्यासको अभाव होइन, उपभोक्ता संचितिमा लाग्दा समस्या आएको हो । हाम्रो आपूर्ति व्यवस्था मजभूत छ । बजारमा ग्यास अभाव हुने हल्ला चिर्ने कोशिस गरिरहेका छौं ” । 

हरेक पटकको वितरण प्रणाली असन्तुलन हुँदा निगमले भने उपभोक्तालाई नै दोषी देखाउने गरेको छ । निगमले उद्योगहरुमा प्रभावकारी अनुगमन गर्नुको सट्टा आवश्यकभन्दा बढी सञ्चिति गर्ने भन्दै उपभोक्तालाई देखाएर पन्छिने गरेको ठाकुरको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी ग्यास आपूर्ति हुने भारतको वरौनी रिफाइनरीको मर्मत सकिएकाले अब ग्यास आपूर्ति झन सहज हुने निगमको दावी छ । खासमा आयल निगमले पर्याप्त आपुर्ति भएको बताए पनि उद्योगहरुले ग्यास प्रशोधन गरेर डिलरसम्म पुर्याउनै विलम्ब गर्दा अभावको स्थिति सिर्जना भएको हो। यसकारण पनि निगमले उद्योगहरुलाई टेकूस्थित निगमको पुरानो कार्यालयमा स्टल राख्न भनेको छ । स्थानीय बिक्रेताकोमा ग्यास पु¥याउन नसकेका उद्योगीले निगम परिसरबाटै ग्यास बिक्री गरेका छन् ।

चुनावको मुखमा ग्यास नियमित आपूर्ति नहुँदा त्रासमा रहेका उपभोक्ता आश्वस्त बनाउनुपर्ने निगमको दायित्व हो । तर निगमले उद्योगीहरुलाई जवाफदेही बनाउन सकेको छैन । बरु बजारमा देखिएको अभावका लागि उपभोक्तामाथि दोष थोपर्न निगमदेखि बिक्रेतासम्मै उद्यत छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।